ढुम्बा तालको सौन्दर्यीकरण गरिँदै

admin

बागलुङ, ११ जेठ : मुस्ताङ, घरपझोङ गाउँपालिका–५ स्थित ढुम्बा ताल ‘संरक्षण तथा सौन्दर्यीकरण योजना’ शुरु हुने भएको छ । ताल क्षेत्रमा पर्यटकीय आकर्षण थप्न गाउँपालिकाले सौन्दर्यीकरण गर्न लागिएको हो । “योजनाको डिपिआर तयार भएको छ”, गाउँपालिका अध्यक्ष आशबहादुर थकालीले भन्नुभयो, “आउँदो वर्ष बजेट छुट्याएर काम शुरु गर्छौं ।”

बजेटका लागि सङ्घ र प्रदेश सरकारसँग पनि माग गरिने उहाँको भनाइ छ । सौन्दर्यीकरण योजनाअन्तर्गत ताल क्षेत्रमा उद्यान, सूचना केन्द्र, घेराबार, विद्युतीकरण, विश्रामस्थल लगायतका संरचना बन्नेछन् । पर्यटकीय तथा धार्मिक महत्वको तालमा पर्यटनमैत्री पूर्वाधारको खाँचो छ । “ढुम्बा ताललाई नमूना पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ”, गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङले भन्नुभयो, “तालको प्राकृतिक सौन्दर्य नाश नहुने गरी संरचना बनाउँछौँ ।”

ताल वरिपरि विद्युतीकरणका लागि सौर्य ऊर्जा जडान गर्ने सोचमा गाउँपालिका छ । सौर्य ऊर्जाको सम्भाव्यता अध्ययनका लागि हालैको गाउँ कार्यपालिका बैठकबाट रु दुई लाख ५० हजार बजेट छुट्याइएको छ ।गत वर्ष पनि गाउँपालिकाले शौचालयलगायतका केही पूर्वाधारमा लगानी गरेको थियो । जोमसोम बजारदेखि तालसम्म पुग्ने तीन किमी सडक स्तरोन्नतिको योजनासमेत गाउँपालिकासँग छ ।

तालसम्म पुग्ने सडकस्तरीय हुनसके पर्यटक आगमन थप बढ्ने देखिन्छ । पदयात्रा रुचाउनेलाई पनि व्यवस्थित पदमार्ग बनाउन आवश्यक छ । जोमसोमदेखि मोटरमा १५ मिनेट र पैदल झण्डै ४५ मिनेटमा ढुम्बा ताल पुगिन्छ । पर्यटकीय हिसाबले प्रचूर सम्भावना बोकेको ताल भए पनि पूर्वाधारका हिसाबले ताल पछाडि छ । ताल आसपासमा सुविधायुक्त होटल, रेष्टुराँको समेत अभाव छ ।

ढुम्बा ताललाई नमूना पर्यटकीयस्थल बनाउन सकिने स्थानीयवासी रुपा गुरुङले बताउनुभयो । “पछिल्लो समय ढुम्बा ताल घुम्ने पर्यटक बढेका छन्”, उहाँले भन्नुभयो, “पर्यटकीय याममा दैनिक छ, ७०० पर्यटक आउँछन् ।” ढुम्मा ताल घुम्नेमा बढी आन्तरिक पर्यटक छन् । सदरमुकाम जोमसोम बजारदेखि दक्षिणपूर्वमा अवस्थित ताललाई ‘मुस्ताङको लुकेको हीरा’ समेत भनेर चिनिन्छ । नीलगिरि हिमालको काखमा अवस्थित तालको धार्मिक महत्व पनि छ ।

बौद्धमार्गीले तालको पानीलाई भगवान् गौतम बुद्धलाई चढाउने जलका रुपमा लिन्छन् । ताल नजिकको ऐतिहासिक कुछुप तेरेङ्गा गुम्बामा यही तालको पानी चढाउने गरिन्छ । बौद्ध धर्मावलम्बी तालछेउमा आई ध्यान र पूजाआजासमेत गर्छन् ।ताल संरक्षण र व्यवस्थापनको काम त्यही गुम्बाले गर्दै आएको छ । तालमा नागराज देउताको बास रहेको मानिन्छ । पारिवारिक सुख, शान्ति मिल्ने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । तालमा विभिन्न प्रजातिका माछा छाडिएको छ । तालमा नुहाउन, पौडी खेल्न, डुङ्गा चलाउन र छेउछाउमा बस्तुभाउ चराउन पाइँदैन । तालको सरसफाइ, व्यवस्थापन र माछाको हेरचाहका लागि कर्मचारी खटाइएको छ ।

ताल घुम्ने विदेशी पर्यटकले रु २० र आन्तरिक पर्यटकले रु १० शुल्क तिर्छन् । तालको पूर्वमा थोरङ्ला र नीलगिरि, पश्चिममा मानामाथि, दक्षिणमा धवलागिरि र टुकुचे हिमाल देखिन्छ । उत्तरपट्टि पर्यटकीय ठिनी गाउँ पर्छ । ताल १३० मिटर चौडा, १६० मिटर लामो र १० मिटर गहिरो छ । समुन्द्री सतहदेखि दुई हजार ९०० मिटरको उचाइमा अवस्थित ताल मुटु आकारको देखिने भएकाले युवायुवतीबीच ‘हार्ट–सेप लेक’ का रुपमा पनि परिचित छ । रासस

प्रतिक्रिया