‘तहगत समन्वय नहुनु सङ्घीयताको मुख्य चुनौती’ : अध्यक्ष तिमिल्सिना

admin

चिप्लेढुङ्गा, १० फागुन: राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राज्य संरचनाका तीन तहका अधिकारका साझा सूची कार्यान्वयन गर्न सहज वातावरण निर्माण गर्नुपर्ने औंँल्याउनुभएको छ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा तिमिल्सिनाले सङ्घीय शासन व्यवस्थामा सरकारको तहगत संरचनामा उचित समन्वय हुन सके मात्र संविधानप्रदत्त सङ्घीयता सार्थक हुने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सङ्घीयताको नयाँ अभ्यासमा नीतिनियमको आवश्यकता प्रमुख भएकाले अहिलेका संविधानमा उल्लिखत केही बुँदा संशोधन र परिमार्जन गरी समृद्धिको खाका बनाउनुपर्ने बताउनुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सङ्घीय शासन व्यवस्थाका हरेक क्रियाकलाप संविधानप्रदत्त भए पनि संविधान र नीतिगत व्यवस्थाको उचित अध्ययन र कार्यन्वयन नपुगेकाले पनि राज्य संरचनाबीच समन्वयमा समस्या आएको धारणा राख्नुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कतिपय कानून प्रदेश र स्थानीय तह आफैँले बनाएर कार्यसम्पादन सहजीकरण गर्न खोजे पनि विधि र प्रक्रिया बाहिर गएकाले दोहोरो झञ्झट व्यहोर्नुपरेको बताउनु भयो । संविधानसभाका पूर्वसदस्य खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयन, तहगत अन्तरसम्बन्ध, कानून निर्माण, वित्त व्यवस्थापन, कर्मचारी प्रशासन चुनौती र अवसरका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
-रासस

प्रतिक्रिया