दत्तात्रय र डोलेश्वरमा दर्शनार्थीको घुइँचो

राष्ट्रिय समाचार समिति

भक्तपुर, ६ साउन: साउन महीनाको पहिलो सोमबार आज भक्तपुरको प्रसिद्ध दत्तात्रय मन्दिर र डोलेश्वर महादेव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । प्रत्येक सोमबार भव्य मेला लाग्ने दत्तात्रय मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेपछि नगरपालिकाले मन्दिर परिसरमा यातायात प्रवेशलाई रोक लगाएको छ ।

दर्शनार्थीलाई सहज दर्शन गर्ने व्यवस्थाका लागि टोकन सिस्टम लागू गर्नाका साथै स्वयम्सेवक परिचालन गरिएको छ भने लाइन बसेको दुई घण्टासम्ममा दर्शन गर्ने व्यवस्था गरिएको छ । मन्दिरमा भक्तपुरसँगै काठमाडौँ उपत्यका र विभिन्न जिल्लाका दर्शनार्थी आएका थिए ।

त्यसैगरी सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको भीड लागेको छ । भगवान् शिवको भव्य आराधना, तीर्थ व्रत गर्ने महीना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको आज बिहानैदेखि भीड लागेको हो ।

त्यसैगरी सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आज नन्दिकेश्वर महादेव मन्दिरमा आजबाट शुरु भएको मेलाको उद्घाटन गर्नुभयो । कार्यक्रममा कलश यात्रासमेत गरिएको छ । रासस

प्रतिक्रिया