दम, खोकी र श्वासप्रश्वास रोगीका लागि बहु उपयोगी असुरो

मनिषा थापा

विभिन्न जडीबुटीमध्ये सर्वसुलभ रूपमा पाइने जडीबुटी हो असुरो। वन औषधिको नामले पनि असुरोलाई चिनिन्छ। एकपटक उम्रिसकेपछि प्राय नाश नहुने असुरो खेत वारी एवं काल्लाहरूमा पनि प्रशस्तै पाइन्छ।

 

गाँठागाँठा परेको डाँठ र भालाकार वा अण्डाकारको हरियो पात हुने यो वृक्षको फूल सेतो सिंहको मुखजस्तो देखिन्छ । यसको पात, जरा र फूलमा पाइने पदार्थले श्वासप्रश्वास प्रणालीका समस्यालाई सुधार गर्छ।

असुरोले श्वासमार्गमा जमेर रहेको कफलाई सजिलै बाहिर निकाल्छ । असुराको पातलाई सुकाएर चिलिममा राखेर तमाखुजसरी खाने वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुन्छ। असुरोलाई आउँमासी परेको बेलामा मिश्रीसँग मिलाएर खाँदा फाइदा गर्छ।

त्यस्तै, धेरै दिनदेखि आएको ज्वरोमा चिराइतो, कुट्की र पिपलासँग मिलाएर यसको प्रयोग गर्न सकिन्छ। पात वा फूलको रस १० मिली र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ। असुरो प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन नमिलेमा हानिकारक पनि हुन सक्छ।

प्रतिक्रिया