दशैँ नजिकिँदै गर्दा दैलेखमा मासुको माग बढ्यो

रिता घिसिंग

दैलेख, १५ असोज : दशैँ नजिकिँदै गर्दा जिल्लामा मासुको माग बढेको छ । विभिन्न निकायहरुले स्थानीय खसीबोका उत्पादनमा वर्षेनी लाखौंँ खर्च गर्ने भए पनि अझै मासुको आपूर्ति सहज हुन सकेको छैन ।

जनताको मागलाई ध्यानमा राखी नारायण नगरपालिकाको सक्रियतामा बल्ल एउटा बधशाला बनेपछि अहिले खुला सडकमा रगतको खोलो बग्न छाडेको छ । शहर सफा भएको त छ तर यति बेला नगरवासी मासु खानै नपाएर छटपटाएका छन् । बधशालामा खसी काट्न थालेपछि रगतले पोतिएका सडक पेटी आजभोलि देखिन छाडे पनि बधशाला नगएरै बजारभरी लुकिछिपी मासु काटिएका छन् । छ वर्षअघि बनेको बधशाला तीन वर्षअघि मात्र प्रयोगमा आएको छ । सदरमुकाम नजीकै निर्माण गरिएको पशु बधशाला सञ्चालन नभई अलपत्र अवस्थामा रहेको भनी नगरवासीले चर्को विरोध गरेपछि सञ्चालनमा आए पनि अहिले मासुको आवश्यकता पूरा भएको छैन ।

अहिले सदरमुकामका तीन स्थानमा बधशाला हुनुपर्ने माघ बढेको स्थानीयवासी मनीष थापाले बताउनुभयो । नारायण नगरपलिकाले रु पाँच लाख, जिल्ला पशुसेवा कार्यालय दैलेखले रु पाँच लाख, उच्च मूल्य कृषि आयोजनाले रु १४ लाख १२ हजार र उपभोक्ता समितिले रु दुई लाख ५० हजार खर्च गरी कूल रु २६ लाख ६२ हजारमा निर्माण भएको आठकोठे बधशाला भवन प्रयोगमा आए पनि त्यसबाट उपभोक्ताले आफूहरुले सहज रुपमा मासु पाउन नसकेको बताउँछन् ।
–रासस

प्रतिक्रिया