दाउरा भए पनि ग्यासको प्रयोग

admin

ललितपुर, ६ जेठ: ललितपुरको महाङ्काल गाउँपालिकाभित्र आवश्यक मात्रामा दाउराको सुविधा भए पनि यहाँका छ सय घरधुरीले खाना पकाउने ग्यासको प्रयोग गर्ने गरेका छन् । गाउँपालिकाभित्र तीन सय घरपरिवारले एल पी ग्यास र तीन सयले गोबर ग्यास प्लाण्ट जडान गरेका छन् ।

हरेक वर्ष वैशाखको अन्तिममा झाडी सुधार गरी प्रत्येक घरपरिवारलाई सङ्ख्याका हिसाबले दाउरा वितरण गर्ने गरिएको गाउँपालिकाका उपाध्यक्ष कमला लामा तामाङले जानकारी दिनुभयो । “यहाँ पर्याप्त मात्रामा दाउराको सुविधा छ, न्यायिक समितिमा रूख कटान विषयका उजुरी बढी नै परेका छन्”, उहाँले भन्नुभयो, “स्थानअनुसार सहज काठपातको व्यवस्थापन भए तापनि सरल सुविधाका लागि ग्यासको प्रयोग बढ्दै गएको देखिन्छ ।”

उक्त गाउँपालिकाभित्रका घर, वनजङ्गल र रूखबिरुवाले घेरिएका छन् । गाउँपालिकाका बासिन्दा ग्यास लिन गोटिखेल बजार आउने गरेको स्थानीय ६५ वर्षीया पार्वती दाहालले बताउनुभयो । “हामी काममा व्यस्त हुन्छौँ, छोरी–बुहारी पढेलेखेका भएकाले विभिन्न काममा व्यस्त हुन्छन्, आगोको धुवाँले स्वास्थ्यमा असर गर्छ, त्यसैले ग्यास नै बाल्छौँ”, उहाँले भन्नुभयो । गाउँपालिकाको तथ्याङ्कअनुसार महाङ्ककालमा दुई हजार ३०५ घरधुरी छन् । रासस

प्रतिक्रिया