दुर्गममा अस्पताल बनाउन दौडेका कार्कीको दौड पूरा

admin

काठमाडौँ, २५ कात्तिक: दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले खुर्कोटदेखि सिन्धुलीगढीसम्मको दौड धावक रामसुन्दर कार्कीले आज पूरा गरेका छन् । करीब २५ किलोमिटर दूरीको दौड कार्कीले दुई घण्टा समय लगाएर पूरा गरेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । कार्कीले २५१औँ सिन्धुली दिवसका अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको कार्यक्रम स्थलमा पुगेपछि दौड टुङ्गाएका थिए ।

सो अवसरमा कमलामाई नगरपालिकाले कार्कीलाई नगदसहित सम्मान पनि गरेको थियो । कार्कीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले रु पाँच हजारसहित प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभयो । दौडबाट सङ्कलन हुने रकम कालीकोटको रासकोटमा बन्न लागेको स्मार्ट अस्पतालका लागि सहयोगस्वरुप हस्तान्तरण गर्ने कार्कीले जनाएका छन् । कार्कीको दौडलाई रुसलान एफएमले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा गोदावरी नगरपालिका, गणेशमान अस्पताल, अक्सब्रिज कलेज, देउसी भैलो ग्रुप, गोदामचौर, ललितपुर निर्माण व्यवसायी, दरबार स्क्वायर मनिचेन्जर, गोदावरी नगरपालिका वडा नं. १ का अध्यक्ष हरिहर कार्कीलगायत हुनुहुन्छ ।

ललितपुरको गोदावारीस्थित गोदामचौर निवासी काकी यसअघि २०६४ सालमा १०१ दिन दौडेर ७५ जिल्ला पुगिसकेका छन् । कार्कीले काठमाडौंदेखि सिन्धुलीगढी दुई पटक, काठमाडौंदेखि लुम्बिनी छ पटक, काठमाडौंदेखि दोलखा तीन पटक र काठमाडौँदेखि पोखरा एक पटक दौडिसकेका छन् । त्यस्तै कार्कीले काठमाडौँदेखि भारतको उत्तर प्रदेश र भुटानको सिमाना फुन्चुलिङ पनि दौडेर पुगिसकेका छन् ।

ओलम्पिक छनौट : नेपाल म्यान्मा प्रतिस्पर्धा गर्दै
ओलम्पिक महिला फुटबलको एशियन छनौटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ । छनौटको पहिलो खेलमा भारतसँग बराबरी खेलेको नेपालले म्यान्मासँग खेल्न लागेको हो । खेल म्यान्माको याङ्गोनस्थित थुनुवा स्टेडियममा नेपाली समयअनुसार बेलुका ५ः१५ मा शुरु हुनेछ ।

दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपाललाई दोस्रो चरणको यात्रा कायम गर्न म्यान्मासँग अङ्क खोस्नुपर्नेछ । तर बलियो घरेलु टोली म्यान्मालाई रोक्नु नेपालका लागि कठिन चुनौती हुनेछ । म्यान्माले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई ५–० ले हराएर आफूलाई प्रमाणित गरिसकेको छ । नेपालले भने भारतसँग १–१ गोलको बराबरी खेलेको थियो ।

समूह ‘सी’मा रहेको म्यानमा तीन अङ्क जोडेर शीर्षस्थानमा छ नेपाल एक अङ्क जोडेर तालिकाको दोस्रो तथा भारत पनि समान एक अङ्क जोडेरे तेस्रो स्थानमा छ । बङ्गलादेश भने अङ्कविहीन हुँदै तालिकाको अन्तिम स्थानमा छ । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनौटमा स्थान बनाउनेछन् ।

यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् । ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । समूह ‘ए’ र ‘बी’ मा पाँच–पाँच राष्ट्र रहेका छन् भने समूह ‘सी’ र ‘डी’ मा चार–चार टोली रहेका छन् । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनौटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरण पुग्नेछन् ।

ओलम्पिकको एशियन छनोटअन्तर्गत नेपाल रहेको समूहमा ‘सी’मा भारत, म्यान्मा र बङ्गलादेश छन् । नेपालले समूह चरणको अन्तिम खेलमा २७ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । दुई साता लामो चीनमा प्रशिक्षण गरी नेपाली टोली म्यान्मा प्रस्थान गरेको हो । चीनमा रहँदा नेपाली टोलीले त्यहाँ तीनवटा मैत्रीपूर्ण फुटबल खेल खेलेको थियो । न नेलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली रहेका छन् ।

नेपाली टोलीमा गोलकिपरम एञ्जिला तुम्बोप्पो सुब्बा, रुपा राना मगर, लिला लाम्गाडे, डिफेण्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, बिमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् ।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
बज्रबाराही मुँवा थाई क्लब र टीकाभैरव बुदोकैदो शाखाले संयुक्तरुपमा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आज सम्मान गरेको छ । थाइल्याण्डमा गत अगष्ट १९ र २० तारिखमा सम्पन्न दोस्रो थाइल्याण्ड गभरमेन्ट अथोरिटी क्योकुशिन अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक विजेता विजय सिंह, रजत पदक प्राप्त दिपेश सापकोटा र तेस्रो स्थान हात पार्ने कवीराज मालीलाई यहाँ आयोजित कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभयो ।

त्यसैगरी नेपालमा नै आयोजना भएको तेस्रो अन्तर्राष्ट्रिय मुँवाथाइ च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त गर्ने शर्मिला गुरुङ ४५ केजी, गुणराज खचाल ६० केजी, रावल श्रेष्ठ ६५ केजी, सन्देश मानन्धर ७० केजी तथा ५५ केजीमा रजत पदक प्राप्त गर्ने कविन देशार पनि सम्मानित भए ।

पुरुष क्लब लिग भलिबल पोखरामा
नेपाल भलिबल सङ्घको आयोजनामा राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता आगामी पुसमा पोखरामा हुने भएको छ । पोखरामा आगामी पुस १ देखि ७ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न आठ टोलीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्माले महासचिव जीतेन्द्रबहादुर चन्दले जानकरी दिनुभयो ।

यसअघि गत वर्ष फागुनमा भएको राष्ट्रिय क्लब च्याम्पियनसिपमा सहभागिता जनाएको १२ टोलीमध्ये शीर्ष आठ स्थान हासिल गर्ने टोलीले लिगमा भाग लिनेछन् । सो प्रतियोगितामा हरेक टोलीले तीन जना विदेशी खेलाडीलाई खेलाउन पाउने नियम बनाएको छ । त्यस्तै प्रतियोगिताको विजेता टोलीले रु दुई लाख तथा उपविजेताले एक लाख पाउने छन् ।

तेस्रो हुनेले रु ५०, हजार, चौथो हुनेले रु २५ हजार पाउने छन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागतरुपमा उतकृष्ट हुने खेलाडीले रु पाँच÷पाँच हजार हात पार्नेछन् । प्रतियोगितामा सहभागिता जनाउने टोलीमा नयाँबजार सामाजिक युथ कलब, हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी क्लब, मणिमुकन्नद भलिबल क्लब (बुटवल), जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र ढोरपाटन प्रशिक्षण केन्द्र रहेका छन् ।
-रासस

प्रतिक्रिया