दोस्रो विशाल गोल्डकपको उपाधि आर्मीलाई

admin

पर्सा, ५ माघ: वीरगञ्जमा आयोजित दोस्रो टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नारायणी रङ्गशालामा आज भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा २–१ ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १–१ गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा पनि दुवै टिमबाट ४–४ गोलको बराबरी भएपछि खेलको अन्तिम निर्णय सडन डेथबाट गरिएको थियो । 

सडन डेथमा हिमालयन शेर्पाका आशीष गुरुङले प्रहार गरेको बल आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरेपछि आर्मीले सडन डेथमा २–१ ले उपाधि विजेता बन्न सफल भएको हो । प्रथम विशाल गोल्ड कपको उपाधिसमेत आर्मीले नै जितेको थियो । उपाधि विजेता आर्मीले नगद रु पाँच लाख ५५ हजार ५५५ र ट्रफी हात पारेको छ । उपविजेता हिमालयन शेर्पाले रु दुई लाख ७७ हजार ७७७ प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हिमालयन शेर्पाका स्ट्राइकर विश्वास श्रेष्ठ घोषित भए । प्रतियोगितामा चार गोल गर्न सफल उनलाई १५५ सिसीको जिक्सर मोटरसाइकल प्रदान गरिएको छ । 

 

प्रतियोगिताको समापन समारोहमा पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले विजेता र उपविजेता टिमका खेलाडीलाई ट्रफी र मेडल प्रदान गर्नुभएको थियो । गत पुस २८ गतेदेखि आयोजित प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता थियो । 

-रासस

प्रतिक्रिया