धान उत्पादनमा १० प्रतिशतले वृद्धि

शर्मिला गुरुङ

भीमदत्तनगर, १७ मङ्सिर  :  गत वर्षभन्दा यस वर्ष कञ्चनपुर र कैलालीमा धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ ।

धानखेतीका बेला विभिन्न प्रकोप नदेखिनुका साथै सिञ्चित क्षेत्रको वृद्धि र किसानलाई विभिन्न सुविधा उपलब्ध गराएका कारण उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कञ्चनपुर र कैलालीको एक लाख ४६ हजार ५३७ हेक्टर क्षेत्रफलमध्ये एक लाख १९ हजार ७४६ हेक्टरमा धानखेती गरिँदै आएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा कैलालीमा कूल ३७ हजार ५०० मेट्रिकटन र कञ्चनपुरमा १६ हजार ९३६ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख गोकुलप्रसाद बोहराले जानकारी दिनुभयो । उक्त परिमाण अघिल्लो आर्थिक वर्षको भन्दा १० प्रतिशतले बढी हो । कञ्चनपुर र कैलालीमा धान उत्पादनमा वृद्धि हँुदै गएकाले सुदूरपश्चिम प्रदेशलाई धानमा आत्मनिर्भर बनाउन सकिने बोहरा बताउनुहुन्छ । प्रदेशमा सबैभन्दा बढी कैलालीमा ७१ हजार २५० हेक्टर तथा कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टरमा धानखेती गरिँदै आएको छ । रासस

प्रतिक्रिया