धुलिखेल अस्पतालमा सौर्य प्रणाली सञ्चालन

admin

काठमाडौँ, २० मङ्सिर: वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु नौ करोड अनुदान सहयोगमा धुलिखेल अस्पतालले ३३५ किलोवाट क्षमताको सौर्य प्रणाली सञ्चालनमा ल्याएको छ । सो प्रणालीको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गर्नुभयो । अस्पतालमा नवीकरणीय ऊर्जाको प्रयोगलाई बढावा दिने लक्ष्यका साथ अस्पतालले सौर्य प्रणाली जडान गरेको हो ।

अस्पतालले सो प्रणालीको क्षमता बढाएर एक मेगावाट पु¥याउने लक्ष्यसमेत राखेको छ । कूल लागतमध्ये केन्द्रले ८० प्रतिशत अनुदान उपलब्ध गराएको हो भने बाँकी २० प्रतिशत काठमाडौँ विश्वविद्यालय र अस्पतालले नै जुटाएको हो । सो परियोजनामा हालसम्म करीब रु १२ करोड खर्च भएको छ । अस्पतालले दुई चरणमा गरेर सौर्य प्रणाली जडान गरेको हो । पहिलो चरणमा १७५ किलोवाट र दोस्रो चरणमा १६० किलोवाट क्षमताको सौर्य ऊर्जा उत्पादन गरिएको छ ।

निकट भविश्यमा सौर्य प्रणालीलाई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जडान गर्ने तयारीसमेत गरिएको काठमाडौँ विश्वविद्यालयका स्कूल अफ मेडिकल साइन्सका डिन प्रा डा राजेन्द्र कोजूले जानकारी दिनुभयो । सो अवसरमा मन्त्री पुनले सरकारले जलविद्युत् आयोजनाको विकास र प्रवद्र्धनसँगै नवीकरणीय ऊर्जालाईसमेत अगाडि बढाइएको बताउनुभयो ।

सरकारले हरेक घरलाई ऊर्जा घरको नारासमेत अगाडि सारेको सन्दर्भमा अस्पतालले उदाहरणीय काम गरेको उल्लेख गर्दै उहाँले अन्य क्षेत्रमा समेत सौर्य प्रणालीको जडानमा विशेष सक्रियता देखाउनुपनमा जोड दिनुभयो । मन्त्री पुनले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत सो विषय समावेश गरिएको उल्लेख गर्दै नेपालले विकास र समृद्धिका लागि यस क्षेत्रमा नमूनायोग्य काम गरिरहेको बताउनुभयो ।

ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सबै नेपालीलाई यसमा जोड्ने कार्ययोजनाका साथ सरकार लागिपरेको पनि उहाँले बताउनुभयो । काठमाडौँ विश्वविद्यालयका उपकूलपति डा रामकण्ठ मकाजूले आफूहरुले वैकल्पिक ऊर्जालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको र सरकारबाट यसमा थप सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

सौर्य प्रणालीलाई थप विस्तार गरेर एक मेगावाट बनाइदिन आग्रह गर्दै उहाँले त्यसबाट अस्पतालको आवश्यकता परिपूर्ति हुने धारणा व्यक्त गर्नुभयो । विश्वविद्यालयले प्राधिकरणको विद्युत्गृहका रुपमा परिचित पनौतीमा रहेको विद्युत् केन्द्रलाई संरक्षण गर्दै अध्ययन केन्द्र बनाउन यसअघि नै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकालले वैकल्पिक ऊर्जाका विषयमा अध्ययन गर्ने विद्यार्थीका लागिसमेत परियोजना महत्वपूर्ण अध्ययन सामग्री भएको बताउनुभयो । उहाँले विश्वविद्यालय र अस्पतालले शिक्षा र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै आगामी दिनमा प्राधिकरणको प्रसारण प्रणालीमा समेत जोड्ने भन्ने कार्ययोजनाले विद्यार्थीलाई थप अध्ययन सामग्री बन्ने स्पष्ट पार्नुभयो । केन्द्रले यसअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत सौर्य प्रणालीको जडानमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ । त्यस्तै नवलपरासीमा एक मेगावाट क्षमताको सौर्य प्रणाली जडानका लागि पनि केन्द्रले सहयोग उपलब्ध गराएको छ ।
-रासस

प्रतिक्रिया