निर्मलाको हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेपाल महिला संघले माग्यो गृहमन्त्री थापाको राजिनामा [प्रेस विज्ञप्तीसहित]

शर्मिला गुरुङ

काठमाडौं, २४ मंसिर : नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’को राजिनामा माग गरेको छ ।


हिजो आइतबार रिपोर्टर्स क्लब नेपालमा नेपाल महिला संघले पत्रकार सम्मेलन गरेर निर्मलाको हत्यारा पत्ता लगाउन वर्तमान सरकार असफल भएको दाबी गर्दै गृहमन्त्री थापाको राजिनामा माग गरेको हो ।

कार्यक्रममा संघकी महासचिव तथा राष्ट्रिय सभाकी सदस्य धना खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका बास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खाजेको आरोप लगाएकी छिन् । सांसद खतिवडाले भनिन्,‘गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारालाई सरकारले उन्मुक्ति दिन खोज्दैछ, पटक–पटक नक्कली अभियुक्त खडा गरेर सरकार असली हत्यारालाई जोगाउन लागेको छ, यस्तो घृणित र खेदजनक कार्यप्रति नेपाल महिला संघ घोर भत्र्सना गर्दछ ।’

निर्मला पन्तको हत्या सामान्य खानदानको मानिसले नगरेको पनि उनको दाबी छ । खतिवडाले भनिन्,‘निर्मलाको हत्या सामान्य खानदानको मान्छेले गरेको होईन भन्ने कुरा आम नागरिकले महसुस गरिसकेका छन्, अहिले खडा गरिएका अभियुक्तका बयान र निर्मला पन्तको पोष्टमार्टम रिपोर्टले फरक सत्य बताएको छ, यस्तो नाटक गरेर जनता र गरिबहरुमाथि दुई तिहाई नेकपाको सरकारले खेलबाड गरिहेको छ, के यसरी समृद्ध र सुखि नेपाली बन्छन् ? म सोध्न चाहन्छु यस्तो विषम परिस्थितिमा पनि गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन् ?

नेपाल सनतान धर्मको ऐतिहासिक पृष्ठभूमिको देश भएको भन्दै सांसद खतिवडाले भनिन्,‘व्यक्ति जुनसुकै कार्यक्रम र सभामा सहभागि हुन पाउँछ तर सरकार नै विवादित धार्मिक संस्थाको आयोजक बन्नु कहाँसम्मको जायज हो ? यो आम नेपाली जनताको भावना र संविधान हित विपरित कार्य हो, सरकारको यस रबैयाप्रति महिला संघले आपत्ति जनाउँछ, महिलाकाबारेमा हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’

महिला हिँसाविरुद्ध १६ दिने राष्ट्रिय अभियान जारी रहेको बताउँदै खतिवडाले अघि थपिन्,‘असल मानिस केही नगरि बस्नु भनेको खराब मानिसको नियत सफल हुनु हो’ राज्यले महिलाहरुकोबारेमा अधिकार दिएको छ, तर व्यवहारमा महिलाहरुले अधिकार पाएका छैनन्, कानून फितलो छ, बलत्कार, दण्डहिनता चरम पराकाष्ठा छ, अर्कोतर्फ मूल्य बृद्धि, कालोबजारी, भ्रष्टाचार मौलाएको छ, तीन तहको स्थानीय सरकार भएरपनि जनताले विधिको शासन र कानूनी राजको महसुस गर्न पाएनन्, देशको विकास र समृद्धि भाषणमा सिमित छ ।’

प्रेस विज्ञप्ती


मिति : २०७५ मंसिर २३

आदरणीय पत्रकार मित्रहरु,

देशमा हत्या, हिंसा र बलात्कारको विकराल अवस्था छ । राज्यको आभास जनताले गर्न सकेका छैनन् । निर्मला जस्ता कयौँ चेली दिन दहाडै बलात्कृत हुन बाध्य छन् । तर सरकार हत्यारा खोज्न र सार्वजनिक गर्नभन्दा पनि संरक्षण गर्न लागिपरेको देखिन्छ ।

आन्दोलनरत सर्वसाधारणको आँखामा छारो हाल्न प्रहरीले नक्कली अभियुक्त अघि सारिरहेको छ । निर्मला पन्तको बलात्कार र हत्या काण्डमा सरकारले दोस्रोपटक नक्कली अभियुक्त अघि सारेको छ ।

सरकार आफैँ प्रमाण मेटाउँदै हिँड्ने, अहिले नक्कली अभियुक्त अघि सारेर निर्मलालाई न्याय मिल्दैन । हाम्रो महिला संघको टिमले कंचनपुरसम्म पुगेर निर्मला प्रकरणको स्थलगत निरीक्षण र अध्ययन गरिसकेको छ ।
निलम्बन गरिएका प्रहरी उपरीक्षक डिल्लीराज विष्टमाथि फौजदारी मुद्धा चलाएर कारबाही अघि नबढाएसम्म निर्मलाका बलात्कारी र हत्यारा पत्ता लाग्न सक्दैनन् । दूई तिहाई बहुमतको सरकारबाट देशमा समृद्धीको ढोका खोल्नुपर्ने हो । यहीअनुरुप जनताको अपेक्षा पनि असिमित थिए । तर सरकारले समस्या समाधान गर्नुको साँटो समस्या सृजना गरिरहेको छ ।

निर्मला जस्ता हजारौँ चेलीहरु बलात्कृत भइरहँदा सरकार कानमा तेल हालेर बसेको छ । न्याय माग्दै सडकमा उत्रेका जनतालाई गोली हानी हत्या गर्ने, खुट्टा भाँचिदिनेसम्मका निर्मम कार्य भएका छन् । निर्मला हत्याकाण्डको विरोधमा आन्दोलन गर्दा घाइते भएका विद्यार्थी अझै पनि अस्पतालमा छट्पटाइरहेका छन् । कसैको खुट्टा भाँचिएको छ, कसैको बोली गुमेको छ । तर सरकार बलप्रयोग गरेर न्याय माग्नेलाई जेल कोचिरहेको छ । के हो गणतन्त्र ? के हो राज्य ? के हो विधिको शाषन ? के यो देशमा कानुन छैन ?

निर्मलाको न्यायका लागि दबाब दिन टाँसिएका पोष्टर प्रहरीले नै च्यात्नुको नियत के हो ? निर्मलाको न्यायका लागि सम्माननीय राष्ट्रपति समक्ष गुहार माग्न जानेलाई पक्राउ गर्नुको अर्थ के हो ? जहाँ सम्माननीय प्रधानमन्त्रीको तस्विर राख्न मिल्छ त्यहाँ निर्मलाको न्यायका लागि पोष्टर टाँस्न किन मिल्दैन ?

नेपालका छोरीलाई न्याय दिनुको साटो इश्वरको एकमात्र छोरी भन्दै क्रिष्चियन धर्मलाई बढावा दिन र विवादास्पद संस्थाको अवार्डमा सरकारको ध्यान केन्द्रित छ । धर्मनिरपेक्ष राष्ट्रमा भएको कुनै एक कार्यक्रममा सरकारको सहभागिता आवश्यक थियो र ?

पछिलो समय दण्डहिनता र बेथितीले जनता आजित छन् । देशमा महिला हिंसाविरुद्धको १६ दिने अभियान चल्दै गर्दा महिला हिंसा र बलात्कारका घटना बग्रेल्ती सार्वजनिक भइरहेका छन् । यो अभियानमा सरकारी खर्च बालुवामा पानी सरह भएको छ । सरकारमातहतका निकाय काम गरिरहने, बजेट खर्च गरिरहने तर लक्षित वर्ग लाभान्वित हुन नसकेको अवस्था छ । १६ दिने अभियान औपचारिकतामा मात्रै सिमित हुँदा सम्पूर्ण महिलाहरु चिन्तित बनेका छौँ । ५ महिना हुनै लाग्दासमेत निर्मलाका हत्यारालाई सार्वजनिक गर भन्दै जनता आन्दोलनमा छन् । तर सरकार भने आन्दोलन दमन गर्न केन्द्रित हुँदा सरकारको नियतमाथि नै प्रश्न उठेको छ ।

निर्मलामाथिको अत्याचार यदी सामान्य नागरिकले गरेको हुन्थ्यो भने नत सरकारले हत्यारा लुकाउँथ्यो, न त प्रमाण नै मेटाउँथ्यो भनेर जो कोहीले अड्कल काटिसकेका छन् । हामी महिलाहरु असुरक्षित भएको महसुस गरिरहेका छौँ । शान्ति सुरक्षाको आभास दिन नसक्ने माननीय गृहमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ । अझै पनि देशमा दण्डहिनता मौलाइरहने र सरकार गम्भीर नहुने हो भने नेपाल महिला संघले सडकदेखि सदनसम्म दबाबमुलक आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्दै जानेछौँ ।

धना खतिवडा, महासचिव
नेपाल महिला संघ

प्रतिक्रिया