निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन हुन्छ : अध्यक्ष दाहाल

राष्ट्रिय समाचार समिति

पोखरा, २१ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नुपर्ने विषयमा जोड दिनुभएको छ । नेकपा कास्की–प्रचारप्रसार उपसमिति, निर्वाचन परिचालन उपसमितिद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले स्वास्थ्य प्रतिस्पर्धाको माध्यमबाट लोकतान्त्रिक अभ्यासको रुपमा निर्वाचन सम्पन्न हुनुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले राजनीतिक स्थिरता र समृद्ध नेपालको निर्माणका लागि यो उपनिर्वाचन खुड्किलो हुने उल्लेख गर्नुभयो ।

उपनिर्वाचनका लागि मुलुकका विभिन्न स्थानमा उत्साहवद्र्धक ढङ्गले मनोनयन दर्ता भएकाले निर्वाचन पनि उत्साहका शान्तिपूर्ण ढङ्गले सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले कास्की क्षेत्र नं २ बाट नेकपाका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई एकजुट भएर प्रचारप्रसारमा जुट्न आह्वान गर्दै कास्की क्षेत्र नं २ लगायत अन्य प्रदेशसभा सदस्यको निर्वाचनको उम्मेदवार सर्वसम्मत रुपमा छनोट भएको जानकारी गराउनुभयो ।

तत्कालीन कास्की क्षेत्र नं २ का सांसद रवीन्द्र अधिकारीप्रति श्रद्धासुमन अर्पन गर्दै अध्यक्ष दाहालले कास्की नेकपाको क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई निर्वाचनमा सफलताको कामना गर्नुभयो । भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो नक्साभित्र पारेको सन्दर्भमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भौगोलिक अखण्डाको विषयमा नेपाली एकजुट रहेको र लिपुलेक हाम्रो भएकाले यस विषय सह्य हुन नसक्ने दृढता प्रकट गर्नुभयो ।

उहाँले विषयमा सरकारको पनि धारणा आइसकेकाले कूटनीतिक माध्यमबाट यसलाई सच्याउनुपर्ने विषयमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भारत भ्रमणको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष लिपुलेकको विषयमा कुरा उठाएको थिए र अहिले भारतले नक्सामा पारेको विषयमा हाम्रो गम्भीर आपत्ति छ ।”

प्रदेश प्रमुखलाई हटाइएको सन्दर्भमा अध्यक्ष दाहालले नयाँ सरकार गठन भएपछि नैतिकरुपमा राजीनामा गर्नुपर्ने नगरिएको एवं राजनीतिक संस्कार प्रदर्शन गर्नुपर्ने नगरिएको उल्लेख गर्दै दुई तिहाइको सरकारले उदार र लचिलो भएको कारणले दुई वर्ष परिवर्तन नगरेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया