नेकपा एकता : स्कुल विभागमा आकर्षण किन ?

admin

काठमाडौं, साउन १० :सत्तारूढ नेकपालाई पार्टी स्कुल विभागको नेतृत्व टुंगो लगाउन सकस परेको छ। विभाग नेतृत्वका आकांक्षी नेताहरू पछि हट्ने अवस्था नदेखिएपछि पार्टी सचिवालय बैठकसमेत प्रभाावित हुन थालेको छ। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ । साउन ५ यता विभागको जिम्मेवारी तोक्न दुईपटक सचिवालय बैठक तोकेरै पनि पार्टी नेतृत्वले स्थगित गरेको छ। साउन ७ र ९ लागि पार्टी सचिवालय बैठकको मिति अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले तोकेका थिए।

तर बिहीबार बिहान नेतृत्वले एकाएक बैठक स्थगित गरे। त्यसपछि नेताहरूले पूर्ववत् समूहमा छलफल तीव्र पारेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वएमालेतर्फका सचिवालय सदस्यले छलफल गरेका थिए भने अर्का अध्यक्ष दाहालले पनि विभिन्न नेताहरूसँग भेटघाट गरेका थिए। वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीसँग आफूहरूको छलफल भएको बताए। उनले भने, ‘समसामयिक राजनीति, पार्टी एकता, जिम्मेवारीलगायतका विषयमा छलफल भयो। तर यसरी नै जिम्मेवारी तोक्ने विषयमा गहिरिएर कुराकानी भएन।’

विभाग नेतृत्वका आकांक्षीमध्येका एक उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीसँग एक्लै झन्डै ढेड घण्टा छलफल गरेका थिए। विभाग नेतृत्वबाट आफू पछि नहट्ने भन्दै उनले आफ्नो दाबीलाई पूर्वमाओवादीबाट अनावश्यक विवादमा तन्न खोजेको बताएका थिए। विभाग नेतृत्वका लागि पोखरेल र प्रवक्ता नारायणकाजी श्रेष्ठले दाबी गरेका छन्।

उता बिहीबार नै अध्यक्ष दाहालले वरिष्ठ नेता माधव नेपालसँग छुट्टै छलफल गरे। दाहाल निवास खुमलटारमा झन्डै डेट घण्टा छलफल गरेपछि नेता नेपाल बालुवाटार पुगेका थिए। विभाग नेतृत्वका लागि ओली र दाहालबीच बुधबार साँझ पनि छलफल भएको थियो। तर छलफलमा दुवै पक्ष टसमस नभएपछि बिहीबारको सचिवालय बैठक स्थगित गरेर नेताहरू थप आन्तरिक छलफलमा जुटेका हुन्। आन्तरिक छलफलमा भने श्रेष्ठ र पोखरेलको विकल्पका पनि छलफल भएको छ।

पार्टीका दुवै अध्यक्ष र महासचिवले महत्त्वपूर्ण विभागको नेतृत्व नलिने सैद्धाान्तिक सहमतिपछि विभाग नेतृत्वका विषयमा दुई अध्यक्षले छलफल थालेका थिए। त्यही क्रममा नेकपाका ३२ विभाग र एउटा थप प्रतिष्ठानमध्ये तत्कालीन एमालेले १८ र तत्कालीन माओवादीले १४ विभागको नेतृत्व गर्ने गरी भागबन्डामा सहमति भएको थियो।संगठन, विदेशलगायत विभाग तत्कालीन एमाले र अर्थ, प्रचारलगायत विभाग तत्कालीन माओवादीले लिने समझदारी भएको नेताहरूकै भनाइ छ। तर स्कुल विभागका विषयमा भने सहमति जुटिनसकेको माओवादी पक्षको दाबी छ।

एमाले पक्षका नेताहरूको भने उक्त विभागको नेतृत्व पनि एमाले तर्फका नेताले गर्ने गरी भागबन्डा भएको जिकिर छ। पोखरेलको समर्थनमा तत्कालीन एमालेभित्रै ओली पक्षका नेताहरू मात्र देखिएका छन्। माधव नेपाल पक्षका नेताहरूले श्रेष्ठका नाममा असहमति जनाएका छैनन्। तत्कालीन माओवादी पक्षले श्रेष्ठको नाम अगाडि सारेको छ।

प्रतिक्रिया