नेकपा सचिवालय बैठक सोमबार

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ८ भदौ: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकता र अन्य निर्णयहरू गर्ने गरी सचिवालय बैठक सोमबार दिउँसो १ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बस्ने भएको छ । पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिङ्गापुर जानुभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बैठक डाक्नुभएको हो ।

प्रधानमन्त्री ओली सिङ्गापुर जानुअघि सोही दिन प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसी अर्का अध्यक्ष दाहालको अध्यक्षतामा बैठक बसी बाँकी विषय टुङ्ग्याउने तय गरेको थियो ।

नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्यूरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ । सोमबारको बैठकमा यिनै विषयमा छलफल हुने दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बैठकमा यी विषयमा सहमति जुटेमा भोलि (सोमबार) नै यी विषय टुङ्गो लाग्नेछन् ।”

प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य उपचारका लागि सिङ्गापुर प्रस्थान जानुभएको थियो । प्रधानमन्त्री ओली ७÷१० दिन त्यहाँ रहने भन्दै पार्टीले यसबीचमा गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी गत बैठकमा भएको थियो ।

प्रतिक्रिया