नेपालकै अग्लो बुद्धको मूर्ति बनाइँदै

राष्ट्रिय समाचार समिति

मिक्लाजुङ, २४ भदौ: पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिमनगरपालिका–४ थाक्लेमा ७४ फिट अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको छ । वडाअध्यक्ष प्रकाश गुरुङको पहलमा नेपालकै अग्लो बुद्धको मूर्ति निर्माण गर्न थालिएको हो ।नगरपालिकाले दिएको रु १५ लाखको लागतमा अहिले पर्खाल निर्माण तथा निर्माण स्थल सम्याउने कार्य भएको छ ।

झण्डै रु आठ करोडको लगानीमा निर्माण हुनलागेको उक्त बुद्धको मूर्तिसहितको पार्कका लागि बजेट अपुग भएको हुँदा विभिन्न निकायमा माग गरिएको वडाअध्यक्ष गुरुङले बताउनुभयो । एक वर्षभित्रमा बुद्धको मूर्ति र पार्क निर्माण सक्ने गरी कामलाई अगाडि बढाइएको छ ।

पूर्वको प्रसिद्ध मन्दिर ताप्लेजुङको पाथिभरा मन्दिर जाने मार्गमा पर्ने यो बुद्धको पार्क निर्माण भएमा आन्तारिक तथा बाह्य पर्यटक, भक्तजनहरु आउने उहाँले बताउनुभयो । यस स्थानबाट पूर्वको पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, इलाम लगायतका जिल्लाको दृश्यावलोकन गर्न सकिनेछ ।

प्रतिक्रिया