नेपालगञ्जका नौ पसलमा चोरी

शर्मिला गुरुङ

काठमाडौँ, २९ असार  :  अबिरल वर्षा परिरहेको मौका छोपी गए राति नेपालगञ्जको व्यस्त सुर्खेतरोडका नौ पसलबाट लाखौँको धनमाल चोरी भएको छ । प्रमोद किराना पसल, भोलेबाबा फर्निचर, क्रियटिभ आल्मुनियम, शाह इलेक्ट्रोनिक्स, डेको फर्निचर, उषा ट्रेडर्स, प्रभा किराना पसल, कुञ्ज ट्रेडर्स र शोभा ट्रेडर्समा चोरी भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, तीन किराना पसलबाट झण्डै रु एक लाख नगद र मोबाइल रिचार्जकार्ड चोरी भएको खुल्न आएको छ । “के कति चोरी भएको छ भन्ने यकिन भइसकेको छैन, मुचुल्का उठाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “चोरले नगद मात्र उठाएको छ, जहाँ नगद भेटिएको छैन, त्यहाँबाट अन्य कुनै सामान नलगेको पाइएको छ ।”

दुई÷दुई वटासम्म बलिया ताल्चा लगाएको सटरसमेत फोडेको भेटिएको छ । जिल्ला र वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख फेरबदल भएको बेला नेपालगञ्जमा चोरीका घटना बढेका छन् । शहरमा चोरीका घटना बढेपछि शनिबार साँझ मात्र नेपालगञ्जका इलेक्ट्रोनिक्स व्यवसायी सुरक्षा माग गर्दै जिल्ला प्रहरी कायालय बाँके पुगेका थिए । गए राति एकैपटक नौ पसलमा चोरी भएपछि व्यवसायी त्रसित बनेको नेपालगञ्जका इलेक्ट्रोनिक्स एशोसिएसनका अध्यक्ष चिरञ्जीवी वलीले बताउनुभयो ।

एशोसिएशनले नेपालगञ्जको धम्बोझी, पुष्पलालचोक, त्रिभुवनचोक, सेतुविक, विपीचोकजस्ता मुख्य ठाउँमा रहेका प्रहरीलाई सक्रिय बनाउन र अन्य क्षेत्रमा नियमित गस्ती गर्न माग गरेको छ । सिसीटिभी क्यामेरा जडान गरिए पनि काम नगरेको भन्दै व्यवसायीले त्यसलाई सुधार गर्न माग गरेका गरेका छन् । रासस

प्रतिक्रिया