नेपालमा २० वर्षमुनिको बिहेमा प्रतिबन्धपछि भारतीय ज्वाइँ खोज्ने क्रम बढ्यो

admin

काठमाडौं, भदौ ७ : २५ माघ २०७५ मा नेपालगन्ज फुल्टेक्राका लक्ष्मी कुम्हारले १६ वर्षीया छोरी सपनाको बिहे तय गरे । निम्तो कार्ड छपाएर १०० वटा त बाँडे । बिहे आउन सात दिन बाँकी थियो । बालविवाहको हल्ला चल्यो । प्रहरीले बिहे रोक्यो । सीमावर्ती भारतीय गाउँ गंगापुरमा सुटुक्कै साइकलमा छोरी लगेर बिहे गरिदिए र भोलिपल्ट छोरीसँगै घर फर्के । उनले भने, ‘लगनकै दिन बिहे गर्न पाएर म धन्य भएँ । बूढीले छोरीज्वाइँलाई आशीर्वाद दिन नपाएको गुनासो गर्छे । गौनापछि छोरी आफ्नो घर जान्छे ।’


–फुल्टेक्राकै १६ वर्षीया अञ्जु ८ कक्षामा फेल भएर घरमै बसिरहेकी थिइन् । परिवारले गत ३ जेठमा भारतीय नागरिकसँग घरबाटै धुमधाम बिहे गराइदिए । ‘डेढ सय त बराती आएका थिए’, उनकी काकी सुष्मा मौर्यले भनिन्, ‘भोज खान पुलिस पनि आएका थिए, तर कसैले उमेर सोधेनन् । बिहे भयो ।’ दुई वर्षपछि गौना गरेर अञ्जुलाई घर पठाउने तयारी छ ।

–डुडुवा गाउँपालिका हल्वलडोलीकी १६ वर्षीया विपनाको भारतको बाबागन्जमा बिहे भयो । बिहेमा आमा मीनासहित आफन्त सरिक भए । विपनाका बाबाको पाँच वर्षअघि मृत्यु भएको थियो । चार वर्षको भाइ छ । सम्पत्तिका नाममा दुई कठ्ठा जग्गा । विपनालाई बिहे गर्न नेपालको कानुनले छेकबार लगायो । बिहेकी साक्षी उनकी दिदी (फुपूकी छोरी) रेखा खटिकले बिहेको रहस्य खोलिन्, ‘मजदुरी गरेर परिवारको खर्च चल्थ्यो । छोरीलाई पाल्न नसक्ने भएपछि बिहे गर्नुपर्‍यो ।’

–जानकी गाउँपालिका–५ बेलभारकी १४ वर्षीया सरिताको गत फागुनमा भारतीय गाउँ बक्सीमा सुटुक्कै बिहे भयो । उनका बुवासहित १२ जना आफन्त दुलाहाको घर गए र बिहे गरेर अर्को दिन घर फर्के । यादव धम्बोझी मावि नेपालगन्जमा कक्षा ८ मा पढ्छिन् । उनका २० वर्ष पुगेकी जेठी दिदी र १८ वर्षकी माइली दिदीको पनि १५ वर्षभन्दा कम उमेरमै बिहे भएको थियो । माइली बिहेपछि घरमै बस्छिन् । उनको गौना हुन बाँकी छ । माइलीपछि साहिलीको गौना गर्ने तयारी छ । ‘बढेकी छोरी कहाँ घरमा राख्न सकिन्छ ? ’ आमा कैलाशाले भनिन्, ‘राम्रो केटा भेट्टायौं, बिहे गरिदियौं ।’

–बाँकेको डुडुवा गाउँपालिका–३ बनकट्टीमा १८ वर्षकी एक मुस्लिम किशोरीको बिहे भएको खबर तीन महिनापछि गाउँभरि फैलियो । न जन्ती आए, न गाउँघरलाई निम्तो बाँडियो । अभिभावकले गुपचुप भारतीय केटासँग बिहे गरिदिए ।


सपना, अञ्जु, विपना र सरिता प्रतिनिधि पात्र हुन् । बाँकेमा भारतसँग ‘रोटी बेटीको सम्बन्ध’ शताब्दीऔंदेखिको हो तर मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा ‘बीस वर्ष नपुगी विवाह गर्न वा गराउन नहुने’ व्यवस्थाले अभिभावककै संलग्नतामा बालविवाह भारतमा गर्र्ने ‘गलत चलन’ छ । कानुन छलेर छोरी भारतीयलाई जिम्मा लगाए पुग्ने रीति बस्न थालेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया