नेपाली सेनाद्वारा विद्यालय भवन मर्मत

रिता घिसिंग

दुल्लु, ६ चैत (रासस) : पानी पर्दा चुहिने दैलेखको एक सामुदायिक विद्यालयको जीर्ण भवन मर्मत गरिएको छ । नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखले उक्त भवन मर्मत गरेको हो । 

सेनाले दैलेखको नारायण नगरपालिका–११ जुफियामा रहेको वडाभैरव आधारभूत विद्यालयको तीनकोठे जीर्ण भवन मर्मत गरेको हो । जीर्ण अवस्थामा रहेको उक्त भवन रु दुई लाख लागतमा मर्मत गरिएको इन्द्रदल गुल्म दैलेखका गुल्मपति सुनिलकुमार मल्लले जानकारी दिनुभयो । 

 

“भवन मर्मतका लागि एक साता अघिदेखि नेपाली सेनाका अधिकृत तथा २० जवान विद्यालयमै खटिएका थिए”, गुल्मपती मल्लले भन्नुभयो, “विद्यालयको भवन जीर्ण अवस्थामा रहेको भन्दै नारायण नगरपालिकाको आग्रहपछि सेनाको स्रोतसाधन प्रयोग गरेर विद्यालयको भवन मर्मत गरेका हाँै ।” पत्थरको छानो रहेको उक्त भवन पानी पर्दा चुहिने र भत्कने अवस्थामा रहेको थियो । 

 

नेपाली सेनाले जीर्ण भवनको छानो टिन (कर्कट पाता) ले छाएको छ भने भवनमा रङरोगनसमेत गरेको छ । मर्मतपछि उक्त भवन टाढाबाटै हेर्दा सुन्दर देखिएको छ । सेनाद्वारा मर्मत गरिएको भवन विद्यालयलाई हस्तान्तरण गर्न पुग्नुभएका नगरपालिका प्रमुख रत्नबहादुर खड्काले नेपाली सेनाले महत्वपूर्ण कार्य गरेको धारणा राख्नुभयो । “यसअघि यहाँ आउँदा भवन भत्कने तरखरमा थियो”, उहाँले भन्नुभयो, “सेनाले थोरै बजेटमा महत्वपूर्ण कार्य गरेको छ ।” भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी स्थानीय सरकारको रहेको बताउँदै नगरप्रमुख खड्काले आगामी आर्थिक वर्षमा सोही विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । 

 

दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले नेपाली सेनाले समुदायको आवश्यकताका आधारमा गरेको सामाजिक कार्यले विद्यालयलाई राहत पुगेको बताउनुभयो । आर्थिकरूपमा कमजोर रहेका सामुदायिक विद्यालयको जीर्ण अवस्थामा रहेको भवन निर्माण गरेर सेनाले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सजिलो बनाइदिएको उहाँको भनाइ छ । विद्यालयका प्रधानाध्यापक मनसरा थापाले आर्थिक स्र्रोत कमजोर भएको विद्यालयमा सेनाले जीर्ण भवन मर्मत गरिदिएकामा धन्यवाद दिनुभयो । 

 

भवन मर्मत कार्य गरेपछि विद्यालयमा अध्ययनरत बालबालिकालाई सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर मल्लले बताउनुभयो । यसैबीच सेनाले सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खेलकूदका सामग्री प्रदान गरेको छ । भवन मर्मत गर्दा आवश्यक सामग्री खरीद गरी बचाएको रकमले विद्यालयमा भलिबल, नेटलगायतका खेलकूद सामग्री प्रदान गरेको गुल्मपति मल्लले बताउनुभयो । 

 

प्रतिक्रिया