नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

मनिषा थापा

ललितपुर, २७ जेठ (रासस) : नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो ।

डेढ महीनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो ।

नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७ गतेसम्ममा सकिने र नेपाली समयानुसार सो दिन उक्त भूउपग्रह पृथ्वीमा छाडिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

“नाष्टको श्रोतागण कक्षबाट उक्त दिन साढे १२ बजेदेखि कार्यक्रम शुरु हुनेछ । भू उपग्रह प्रक्षेपण गरेको समय नाष्टले प्रत्यक्ष प्रसारण देखाउनेछ”, ढकालले भन्नुभयो, “जापानबाट जापानी अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा) का दुई जना विज्ञ नेपाल आउने तयारी भइरहेको छ ।” त्यस दिन २० मिनेटको अन्तरमा पहिला नेपालको नेपाली स्याट–१ त्यसपछि श्रीलङ्काको रावन–१ अन्तिममा जापानको युवुसु भूउपग्रह प्रक्षेपण हुने बताइएको छ ।

डेढ महीनाअघि नै उक्त भूउपग्रह ४०० किलोमिटर माथि आकाशबाट अन्तरिक्ष यान पृथ्वीको सतहमा जोडिन सफल भइसकेको छ । जाक्साले सो भूउपग्रह निर्माणका लागि नमूना तयार गरी सफल बनाएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताउनुभयो । सो प्रविधि सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ । यस भूउपग्रहको आयु तीन महीनादेखि तीन वर्षसम्मको हुनेछ । सरकारले नेपालमा सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो ।

प्रतिक्रिया