नेपाल फाइनलमा पराजित, भारत च्याम्पियन

admin

विराटनगर,  चैत ८ : नेपाल लगातार पाँचौ पटक साफ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै पाँचौ साफ महिला च्याम्पियनसिपको उपविजेतामा सिमित भएको छ । विराटनगरस्थित शहिद रंगशालामा भारतले नेपाललाई ३-१ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । यससँगै भारत लगातार पाँचौपटक च्याम्पियन बन्यो । नेपालको भने उपाधि यात्रामा भारत लगातार बाधक बन्यो । नेपाल सबै संस्करणमा भारतसँग पराजित हुन पुग्यो । अघिल्लो संस्करणको सेमिफाइनलमा हार भोगेको नेपालले सुरुवाती ३ संस्करणमा भारतसँग नै हार बेहोरेको थियो ।

निकै नै रोमाञ्चक बनेको खेलमा भारतलाई जिताउन डालिमा छिब्बर, ग्रेस दाङमेइ र अन्जु तामाङले गोल गरिन् । नेपालकी सावित्रा भण्डारीले एक गोल फर्काइन् ।खेलको २६औं मिनेटमा डालिमा छिब्बरले करिव ३५ यार्डबाट फ्रिकिकमा सुन्दर गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो । हीरा कुमारी भुजेले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई डालिमाले सोझै गोलमा परिणत गरेकी हुन् ।

 

 

३३औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरको लामो पासमा सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् । उनले फ्लिक हेडर गर्दै गोलरक्षक अदिति चौहानले रोक्न सकिनन् । पहिलो हाफको अन्तिम मिनेटमा सावित्राले अग्रता दिलाउने सुन्दर अवसर खेर फालिन् । उनलको सुरुवाती प्रहार अदितिले रोकेपनि दोस्रो प्रहारले भने पोस्टको दिशा लिन सकेन ।दोस्रो हाफमा नेपालले पहिलो हाफमा जस्तो दोस्रो हाफमा खेल्न नसक्दा पराजित हुन पुग्यो । ६३औं मिनेटमा सन्धियाको पासमा ग्रेस दाङमेईले गोल गरेपछि नेपाल खेलमा २–१ ले पछि परेको थियो । उनले एकल प्रयासमा गोल गर्दै भारतलाई अग्रता दिलाइन् ।७८औं मिनेटमा वैकल्पिक खेलाडी अन्जु तामाङले गोल गरेपछि नेपालको आशा समाप्त भएको थियो । नेपाल चौथोपटक फाइनलमा पराजित भएको हो ।

प्रतिक्रिया