पञ्चेबाजा संरक्षणका लागि समावेशी टोली निर्माण

रिता घिसिंग

जाजरकोट, ५ वैशाख (रासस) : विवाह तथा विभिन्न समारोहमा बजाइने पञ्चेबाजा पछिल्लो समयमा आएर लोप हुन थालेपछि संरक्षणमा जोड दिन थालिएको छ । बजारमा आधुनिक बाजाको आगमनसँगै पराम्परागत रूपमा बजाइने मौलिक संस्कृति बोकेको पञ्चेबाजा बजाउने चलन जिल्लाको नलगाड नगरपालिका बाजा संरक्षणमा लागेको हो ।

फाइल फोटो

जिल्लामा सयौँको सङ्ख्यामा रहेका यसका वाद्यवादक अहिले सीमित मात्रामा रहेका छन् । त्यो पनि वृद्धवृद्धा मात्र नेपालीको मौलिकता झल्काउने पञ्चेबाचा बजाउने सीप सिक्न युवा पिँढीले नचाहँदा बाजा नै लोप हुने अवस्थामा पुगेको भन्दै संरक्षणमा लागेको नलगाड नगरपालिका नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । अहिले युवायुवतीले बाजा बजाउन नचाहने गरेकाले बाजा नै सङ्कटमा परेको उहाँको भनाइ छ । सङ्कटमा पर्न लागेको पञ्चेबाजाको संरक्षण गर्नका लागि नलगाड नगरपालिकाले अभियान नै सञ्चालन गरेर कामको थालनी गरेको हो । पञ्चेबाजा संरक्षणका लागि बजेट विनियोजन गरेर काम थालनी गरिएको नलगाड नगरपालिकाकी प्रवक्ता राममाया हमालले जानकारी दिनुभयो ।

पञ्चेबाजामा नरसिङ्गा, दमाहा, सनही लगायतका बाजाको प्रयोग हुने गरेको छ । अहिले गाउँघरमा यस्ता बाजा नै पाउन कठिन छ । विगतमा विभिन्न बाजाको निर्माण स्थानीयस्तरमा हुने गरेको भए पनि त्यस्ता खालका बाजा बनाउने सीप भएका मानिस नभएपछि बाजा लोप हुँदै जाने भएकाले यसको संरक्षणमा नलगाड नगरपालिका जुटेको छ । पञ्चेबाजा संरक्षण कार्य शुरु भएसँगै सरोकारावाला खुशी भएका छन् । आफ्नै लगानीमा दमाह लगायतका वस्तुहरु खरीद गर्दै आएका दमाईं जातिले स्थानीय सरकारको सहयोग पाएपछि खुशी भएको नलगाड नगरपालिका–२ का महेन्द्र परियारले बताउनुभयो ।

पञ्चेबाजा संरक्षणका लागि समावेशी बाजा टोली बनाई काम थालिएको छ । समयानुकूल बाजा संरक्षण गर्दै लिनुपर्नेमा जोड दिँदै काम थालिएको नगरपालिकाका निर्मित प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । सबै जातिका स्थानीयवासी मिलाएर बाजा टोली बनाई काम थालिएको छ ।

प्रतिक्रिया