पत्रकारिताले संवाहकको भूमिका निर्वाह गर्नुपर्छः मुख्यमन्त्री पौडेल

admin

हेटौँडा, १५ असोज : प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रले मुलुकको स्वतन्त्रताको रक्षा गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुरको १५ औँ वार्षिकसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “पत्रकारिता क्षेत्र जनता र सरकार बीचको संवाहकको भूमिका निर्वाह गर्न सक्नुपर्छ ।”

मुख्यमन्त्री पौडेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकारले विभिन्न राष्ट्रिय गौरवका योजना सञ्चालनमा ल्याएको चर्चागर्दै समृद्ध प्रदेश निर्माणका लागि दलगत स्वार्थलाई त्यागेर अगाडि बढ्न सबैमा आग्रह गर्नुभयो । प्रदेशका राजधानी हेटौँडाबाट अन्यत्र सार्ने सोचलाई त्यागेर प्रदेशको समृद्धि र प्रजातन्त्रको सुदृढीकरणका लागि एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताउँदै प्रदेश सरकारले गरेका जनहितका कार्यमाथि त्रुटि भए प्रेसले स्वस्थ्य आलोचना गरी मार्गनिर्देशन गर्न सुझाव दिनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री शालिक राम जम्कट्टेलले प्रदेश सरकारले अब नयाँ सोच र चिन्तनबाट अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रिय गौरवका आयोजनालाई जनहितका निमित्त कार्यान्वयन गर्नेतर्फ प्रदेश सरकार अग्रसर भएको बताउनुभयो । पत्रकारले आचारसंहिताको पालना गर्दै जनताप्रति जवाफदेही हुनुपर्ने सुझाव उहाँले दिनुभयो । प्रदेशसभा सदस्यद्वय मुनु सिग्देल र प्रेमबहादुर पुलामीले सत्य, तथ्य र यथार्थपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्दै प्रेस मैत्री वातावरण सिर्जनाका लागि प्रदेश सरकार सजग हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष न्हुछेमान श्रेष्ठको स्मृतिमा स्थापित ‘न्हुछेमान स्मृति पत्रकारिता पुरस्कार’ ‘हेटौँडा सन्देश’का समाचारदाता रोशन पराजुलीलाई प्रदान गर्नुभयो । उक्त पुरस्कारको राशी पाँच हजार एक रहेको छ । कार्यक्रममा महासङ्घलाई सहयोग पु¥याउने विभिन्न महानुभावलाई पनि प्रशंसापत्र प्रदान गरियो । यसैगरी वार्षिकसभामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण गिरी, पूर्वकेन्द्रीय सदस्य प्रताप विष्ट र पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले सरकारले सञ्चारमाध्यमलाई निष्पक्ष ढङ्गबाट विज्ञापन उपलब्ध गराउन र प्रदेशस्तरको सञ्चार प्रतिष्ठान स्थापना गर्न माग गर्नुभयो ।
-रासस

प्रतिक्रिया