पत्रिका जलाइएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

admin

काठमाडौँ, १६ असोज: नेपाल पत्रकार महासङ्घले प्रकाशित समाचारको विषयलाई लिएर कैलालीको अत्तरियामा वितरणका लागि ल्याइएका राष्ट्रिय दैनिकपत्रिका जलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सुदूरपश्चिमको राजधानी सम्बन्धमा समाचार छापिएका ‘कान्तिपुर’, ‘दि काठमाडौँ पोष्ट’, नागरिक, ‘अन्नपूर्ण पोष्ट’ लगायतका पत्रिका आज चार÷पाँच जनाको समूहले बिहान पत्रिका गाडीबाट कब्जामा लिइ अत्तरियामा जलाएको महासङ्घले जनाएको छ ।

यसअघि यही असोज १६ गते आफू अनुकूल समाचार प्रवाह नगरेको भन्दै कञ्चनपुरमा सगरमाथा टेलिभिजनका संवाददाता चन्द्रकान्त जोशीमाथि एक समूहले आक्रमण गरेको थियो । कुनै पनि बहानामा जनतालाई सुसूचीत गराउने भरपर्दो माध्यमका रुपमा रहेका पत्रपत्रिका जलाइनु तथा पत्रकारमाथि आक्रमण गर्नु स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएको महासङ्घको ठहर छ ।

यस्ता कार्यले नेपालको संविधानको व्यवस्था उल्लङ्घन हुनुका साथै जनताको सुसूचीत हुन पाउने अधिकारलाई कुण्ठित पार्ने काम भएको महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासङ्घले यस घटनाको छानबिन गरी दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन तथा सञ्चारकर्मी र सञ्चारमाध्यमको सुरक्षामा संवेदनशील भई यस्ता घटना नियन्त्रणका लागि कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
-रासस

प्रतिक्रिया