पदयात्रा पर्यटनलाई लक्षित गरी सामुदायिक घरबास

admin

भैंसे गौंडा (स्याङजा), १ पुस : जनशक्तिका अभावमा सञ्चालित घरबास (होमस्टे) कार्यक्रम प्रभावकारी बन्न नसकेको अवस्थामा मिलेनियम (सहस्राब्दी पदमार्ग) ट्रेकअन्तर्गतका विभिन्न स्थानमा सामुदायिक घरबासको अवधारणा अघि बढाइएको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिले तनहँुको दुलेगौंडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको पदयात्रा मार्गका विभिन्न गाउँमा सामुदायिक घरबास कार्यक्रम सञ्चालनलाई जोड दिँदै गएका अवस्थामा भैंसे गौंडालगायत स्थानमा यसको प्रयास थालिसकिएको छ ।

सञ्चालनमा सामुदायिक प्रयास नभए आगामी दिनमा घरबास प्रभावकारी बन्न नसक्ने अवस्थालाई देखेरै पुतलीबजार नगरपालिका–२ स्थित भैंसे गौंडामा सामुदायिक होम स्टेको अवधारणासहित आफूहरू सक्रिय बनेको मिलेनियम भैंसे गौंडा सामुदायिक होम स्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो । “जनशक्तिको अभाव भइरहेका अवस्थामा अब व्यक्ति व्यक्तिले घरमा घरबास सञ्चालन गर्न सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “सामूहिक प्रयासबाट पर्यटकले पनि राम्रो सेवासुविधा पाउनाका साथै यसलाई दिगो र प्रभावकारी राख्न सकिने देखिएका कारण भैंसे गौंडामा सामुदायिक होम स्टेको अवधारणा अघि बढाइएको हो ।”

सामुदायिक घरबासको लक्ष्यका साथ लगभग १५ जना पर्यटकलाई एकै भवनमा राख्न सक्ने गरी भंैसे गौंडामा रु ५५ लाखको लागतमा छकोठे भवन निर्माण गरिसकिएको छ । उत्पादनसँग घरबासलाई जोड्ने लक्ष्यका साथ सामुदायिक कृषिका माध्यमबाट अनुत्पादक बन्दै गएका बाँझा जग्गालाई उत्पादनयोग्य बनाउन राङभाङ मेकाडामिया नट उत्पादन कृषक समूह गठन गरी मेकाडामिया नटको खेती थालिसकिएको छ । समूहका अध्यक्षसमेत रहनुभएका गुरुङका अनुसार २५ घरपरिवार सदस्यका रुपमा रहेको समूहबाट लगभग ५०० मेकाडामियाका बिरुवा लगाइसकिएको छ । आगामी दिनमा पर्यटकलाई प्राङ्गारिक उत्पादन खुवाउन अन्य कृषिका विकल्प पनि खोजिने उहाँको भनाइ छ ।

ट्रेकअन्तर्गतकै पुतलीबजार नगरपालिका–९ स्थित पोखरीछापमा पनि समुदायमा आधारित घरबास सञ्चालनमा आइसकेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका स्थानीय समाजसेवी नवीनप्रकाश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार समुदायकै सक्रियतामा पोखरीछापका प्राचीन संस्कृति घाटु, झोरा जस्ता नाचको संरक्षण एवम् विकासको प्रयास थालिएको छ ।

पदयात्रा गर्दै पोखरीछाप आइपुगेका पर्यटकले कोल्माकोटबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, लम्जुङ, गणेश हिमालसहितका हिमाली दृश्यका साथै पोखरा आसपासका काहुँकोट, हुडिकोट, कोट दरबार, बरपाण्डेथुम, ढोर दरबारलगायत पहाडी स्थानका रमणीय दृश्य एकसाथ अवलोकन गर्न सकिने गुरुङले बताउनुभयो ।

मिलेनियम ट्रेकअन्तर्गत तनहुँको शुक्लागण्डकी वडा नं १० स्थित रजस्थल, वडा नं १२ स्थित घरेडी, स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित सादीखोला, वडा नं ११ स्थित राइपुर, वडा नं १२ का चन्द्रकोट र डाँडागाउँमा सामुदायिक घरबास कार्यक्रम सञ्चालन भएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुभयो ।

त्यस्तै पदयात्रा मार्गकै वालिङ नगरपालिका–३ स्थित सिङ्गारकोट, बूढाकोट र राम्चे, वडा नं ४ स्थित गहते मनकामना, सुन्तलाबारीमा, भिरकोट नगरपालिका–५ स्थित केघामा पनि सामुदायिक घरबास सञ्चालन भएका छन् । मिलेनियम ट्रेक पदयात्रा पर्यटनको महत्वपूर्ण सम्भावनायुक्त स्थान भएका कारण यसको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्डले पनि चासो देखाएको छ ।

मध्य पहाडी क्षेत्रको पहिलो पदयात्रा मार्गका रुपमा रहेको मिलेनियम ट्रेकअन्तर्गत तनहँु र स्याङ्जा जिल्लाका साबिक २३ वटा गाउँ विकास समिति पर्दछन् । सन् २००० देखि सञ्चालनमा आएको यो ट्रेक त्यस यताको देशको राजनीतिक घटनाक्रम आदिका कारण ओझेलमा परेका कारण यसको पुनः जागरणको प्रयास थालिएको महासचिव गुरुङको भनाइ छ ।

प्रतिक्रिया