पर्यटकीयस्थलमा पूर्वाधार निर्माणमा पाँच करोड विनियोजन

शर्मिला गुरुङ

काठमाडौँ, १२ असोज  : म्याग्दीका पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारले चालू आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी पदमार्गलगायतका पूर्वाधार निर्माणमा सो बजेट विनियोजन गरेको हो ।

प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले सङ्घ सरकारले बजेट विनियोजन गरेका योजनाको बारेमा जानकारी दिनुभयो । घोडेपानी–मोहरेडाँडा पदमार्ग, पुनहिल पूर्वाधार, रुइसे धवलागिरि आइसफल पदमार्ग, धवलागिरि चक्रिय पदमार्ग, गुर्जा हिमाल पदमार्ग, तातोपानी कुण्ड, ताकमकोत पुनःनिर्माण र गलेश्वरलाई रु ५० लाख विनियोजन भएको छ ।

बेनी–टोड्के–मालिका पदमार्गलाई रु ५० लाख, अन्नपूर्ण पदमार्गलाई रु ४० लाख, भकिम्ली बेलढुङ्गा पदमार्गलाई रु १० लाख विनियोजन भएको छ । यसैगरी गण्डकी प्रदेशका सांसद विनोद केसीले गत वर्ष शुरु भएका र विगतमा ठेक्का लागेका खानेपानी, सडक आयोजनालाई पूर्णता दिन यसपालि प्राथमिकताका साथ बजेट विनियोजन भएको बताउनुभयो ।

सङ्घीय सांसद थापाले योजना तथा कार्यक्रम छनोटमा भौगोलिक सन्तुलन मिलाएको बताउनुभयो भने प्रदेश सांसद केसीले प्रदेश र सङ्घका योजना कार्यान्वयनमा स्थानीय तहले बेवास्ता गरेको गुनासो गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले स्थानीय तहका योजना अनुगमनका लागि विवरण मागे पनि उपलब्ध नगराएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाबीच योजना छनोटदेखि कार्यान्वयनमा समन्वय हुनुपर्ने विचार राख्नुभयो ।

बसपार्कमा यात्रु सहायताकक्ष स्थापना

म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल बसपार्कमा चाडपर्वलाई लक्षित गरेर यात्रु सहायताकक्ष स्थापना भएको छ । जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरी कार्यालय परिसरमा सहायताकक्ष स्थापना गरेको हो ।

दशैँ, दिपावली तथा छठ पर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले उनीहरूलाई पर्ने समस्या समाधान तथा गुनासो सुनुवाइ गर्न सहायताकक्ष स्थापना गरेको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताउनुभयो । सहायताकक्षमा चौबिसै घण्टा सुरक्षाकर्मी खटिनेछन् । कालीपुल बसपार्कबाट म्याग्दीबाट लामो तथा छोटो दूरीका सवारी साधन छुट्ने गर्छ । तोकिएभन्दा बढी भाडा लिने, यात्रुलाई अलपत्र पार्ने, गाडी नपाउनेजस्ता समस्यामा परेका यात्रुले सहायताकक्षमा गुनासो गर्ने व्यवस्था मिलाइएको छ । रासस

प्रतिक्रिया