पर्यटकीयस्थल संरक्षणका लागि रु ५० लाख बजेट विनियोजन

शर्मिला गुरुङ

बैतडी, २ चैत  :  बैतडीमा रहेको विभिन्न धार्मिक तथा पर्यटकीयस्थल संरक्षणका लागि यहाँका स्थानीय तहले चासो देखाएका छन् ।

जिल्लाको दुर्गम सिगास गाउँपालिकाले त्यहाँ अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सिगास धुराको संरक्षणका लागि चासो देखाएको हो । सिगास धुरा क्षेत्रको संरक्षणका लागि भन्दै रु ५० लाख बजेट विनियोजन गरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । विनियोजित बजेटले उक्त क्षेत्रमा मैदान निर्माण गरिनुका साथै बाटोको स्तरोन्नति गरिने उहाँले बताउनुभयो ।

क्रमागत योजनामा राखिएको उ क्त क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका लागि आगामी वर्ष थप बजेट विनियोजन गरिने गाउँपालिका अध्यक्ष धामीको भनाइ रहेको छ । हात्तीसुन्नादेखि सिगास धुरा मन्दिर क्षेत्रसम्मको एक किलोमिटर बाटोको स्तरोन्नति र मैदान निर्माण कार्य भइरहेको बताइएको छ । सिगास धुराको संरक्षण र प्रवद्र्धन गरी प्रचारप्रसार गर्नसके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका भवन निर्माण कार्य जारी

बैतडीको दुर्गम सिगास गाउँपालिकाको भवन निर्माण कार्य जारी रहेको छ । गाउँपालिकाको केन्द्र तोकेको ठाउँ गाउँपालिका–८ गर्जेमा कुनै पनि सरकारी भवन नहुँदा गाउँपालिकाले भवन निर्माण कार्य भइरहेको हो । गाउँपालिकाले उपभोक्ता समितिमार्फत् अढाई दुई तले भवन निर्माण कार्य सात महीनादेखि जारी रहेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । बाह्र कोठाको भवनसँगै एक सभाहलसमेत निर्माण गरिने भएको छ । हाल भुईंतला निर्माण कार्य सम्पन्न गरिसकेका छौँ उहाँले भन्नुुभयो, “अबको एक वर्षमा गाउँपालिका भवन निर्माणको काम सम्पन्न हुन्छ ।”

गाउँपालिकाको केन्द्र तोकिएको ठाउँमा कुनै पनि भवन नहुँदा अहिले गाउँपालिकाले दिने सेवामा कठिनाइ भएको छ । आफ्नै भवन नहुँदा गाउँपालिकाले गर्जेमा रहेका पसलसँगैको कोठा भाडामा लिएर सेवा दिइरहेको छ ।
रु एक करोड ५० लाखको लागतमा बन्न लागेको उक्त भवन निर्माण कार्यलाई तीव्ररुपमा अगाडि बढाइएकाले तोकिएकै समयमा भवन निर्माण कार्य सम्पन्न हुने सिगास गाउँपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया