पर्यटन वर्ष सफल बनाउन प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री नेपाल

राष्ट्रिय समाचार समिति

हेटौँडा, १० असोज : प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले सङ्घीय सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा पत्रकारसँग कुरा गर्दै मन्त्री नेपालले प्रदेश नं ३ मा धेरैभन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउनका लागि तयारी गरिएको उल्लेख गर्नुभयो । उहाँले विदेशी पर्यटकको प्रमुख प्रवेशद्वार प्रदेश ३ मै पर्ने भएकाले त्यसको सदुपयोग गर्न सकिने धारणा राख्नुभयो ।

मन्त्री नेपालले प्रदेशभित्रको पर्यटकीय क्षेत्र काठमाडौँ, चितवनको सौराहा, मकवानपुरको इन्द्रसरोवर, जुगल हिमाललगायतका क्षेत्रमा पर्यटकलाई घुम्न प्रेरित गर्ने तयारी गरिएको बताउनुभयो । उहाँले प्रदेशमा भएका पर्यटकीय क्षेत्रको विकास गर्ने र नयाँ पर्यटकीय गन्तव्यको खोजी र निर्माण गर्ने तयारीसमेत रहेको जानकारी दिनुभयो । पर्यटन वृद्धि गर्न पूर्वाधार निर्माणको क्षेत्रमा प्रदेश सरकारले बजेट छुट्याएर काम गरिरहेको उहाँको भनाइ थियो ।

उहाँले मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्व र आफ्नै अध्यक्षतामा पर्यटकसम्बन्धी प्रदेशस्तरीय समिति बनाएर काम शुरु गरिएको र प्रदेशका सबै ११९ वटा स्थानीय तहहरुमा पर्यटन समिति गठन गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया