पर्वतको विहादीमा आगलागी

admin

पर्वत, ४ माघ: दक्षिण पर्वतको बिहादी गाउँपालिका–४ र ५ मा पर्ने वहाकी र उरामपोखराको जङ्गलमा आगालागी भएको छ । स्थानीय ल्होल्से सामुदायिक वन र सालघारी सामुदायिक वनमा बिहीबार बिहान ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । वनमा लागेको आगोले सयौँ हेक्टर वन नष्ट गरिसकेको स्थानीयवासी ऋषिराम भुसालले जानकारी दिनुभयो ।

आगो अहिले सालघारीमाथिको भीरमा लागिरहेको छ । विहादी–४ वहाकीको लिङ्सिङ, तलातुम र बिहादी– ५ उरामपोखरा लुगरिङ र भतेरपाटाका बासिन्दा आगलागीको जोखिममा पर्नसक्ने स्थानीय प्रहरी चौकीले जनाएको छ । उनीहरुलाई सतर्क रहन आग्रह गरिएको प्रहरीको भनाइ छ ।

बस्तीभन्दा निकै माथिको पहाडमा आगो लागेकाले नियन्त्रणमा लिन नसकिएको स्थानीयवासीले बताएका छन् । आगो नियन्त्रणमा नलिने हो भने हजारौँ हेक्टर क्षेत्रफलमा फैलिएको जङ्गल नष्ट हुने अर्का स्थानीय दिनेश भुसालको भनाइ थियो ।
-रासस

प्रतिक्रिया