पहिलो टेस्ट क्रिकेटमा भारत विजयी

शर्मिला गुरुङ

एडीलेड, २४ मङ्सिर (रासस/एएफपी) : अस्ट्रेलियाको एडीलेडमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई ३१ रनले पराजित गरेको छ । अस्ट्रेलियाको घरेलु मैदानमा दश वर्षपछि भारतले टेस्ट जितेको यो पहिलो हो ।

पाँचौं दिन जितका लागि ३२३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको टोली २९१ रनमा अलआउट भएको थियो । भारतको जितमा महत्वपूर्ण आधार तयार गरेका चेतेश्वर पुजारा म्यान अफ द म्याच घोषित भएका थिए ।
भारतका तर्फबाट रविचन्द्रन अश्विन, जसप्रित बुमराह र मोहम्मद सामीले तीनतीन विकेट लिएका थिए भने इशान्त शर्माले एक विकेट लिए ।

अस्ट्रेलियाका लागि शन मार्सले ६२ र कप्तान टीम पेनले ४१ रन बनाएका थिए । अस्ट्रेलियाका अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेका थिएनन् । उनीहरु नियमित अन्तरालमा आउट भएका कारण शुरुदेखि नै अस्ट्रेलिया दबाबमा परेको थियो ।

अस्ट्रेलियामा भारतले सन् २००८ मा पर्थस्थित वाका रङ्गशालामा अन्तिम पटक टेस्ट जितेको थियो । एडीलेड मैदानमा भने अस्ट्रेलिया विरुद्ध भारतले सन् २००३ मा अन्तिम पटक टेस्ट जितेको थियो ।

आगामी शुक्रबारदेखि दुवै टीमबीच पर्थमा दोस्रो टेस्ट हुँदैछ ।

प्रतिक्रिया