पाकिस्तानको राष्ट्रपति कार्यालय सर्वसाधारणलाई खुल्ला

admin

इस्लामावाद, २२ मङ्सिर: पाकिस्तानको राजधानी इस्लामावादमा रहेको राष्ट्रपति कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको छ । सरकारी कार्यालयहरुमा सर्वसाधारणको पहुँच बढाउने अभियान स्वरुप सरकारले राष्ट्रपतिको कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको शनिबार घोषणा गरेको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता ताहिर खुश्नुदले राष्ट्रिय परिचयपत्र देखाएर पाकिस्तानका कुनै पनि नागरिक सरकारी कार्यालयमा प्रवेश पाउने व्यवस्थाअनुसार राष्ट्रपति कार्यालयमा पनि प्रवेश पाउने व्यवस्था गरिएको बताउनुभयो । हरेक शनिबार बिहान ९ः०० बजेदेखि अपरान्ह् ४ः०० बजेसम्म कार्यालयमा प्रवेश गर्न दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो । पाकिस्तानको सत्तारुढ दल ताहरिक ए इन्साफले निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार यस्तो व्यवस्था गरिएको हो ।

निर्वाचनको समयमा सो पार्टीले आफूले निर्वाचन जिते सरकारी सबै भवन तथा कार्यालयहरुमा सर्वसाधारणको सहज पहुँच हुने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको थियो । सरकारले देशको पूर्वी क्षेत्रमा रहेको पञ्जाब, दक्षिण क्षेत्रमा रहेको सिन्ध र उत्तरपश्चिमी क्षेत्रमा रहेको खैबर पख्तुन्खवा प्रान्तका गभर्नरका कार्यालयहरु भने यसअघि नै सर्वसाधारणका लागि खुल्ला गरिसकेको छ । उच्च सुरक्षा सतर्कतामा राखिएको र संवेदनशील मानिएको राष्ट्रपति कार्यालय यसअघि सर्वसाधारणका लागि प्रवेश निषेध गरिएको थियो ।
-रासस÷सिन्ह्वा

प्रतिक्रिया