पाकिस्तानले गरिबी निवारणका लागि चिनियाँ नमूनाबाट पाठ लिने : प्रधानमन्त्री खान

admin

इस्लामावाद, पाकिस्तान, २५ कात्तिक: पाकिस्तानले गरिबी निवारणका लागि चिनियाँ नमूनालाई आधार बनाउने प्रधानमन्त्री इमरान खानले बताउनुभएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । पाकिस्तानको पूर्वी शहर लाहोरमा सरकारी आवास गृहको उद्घाटन समारोहमा प्रधानमन्त्रीले भन्नुभयो, “चीनले विगत तीन दशकमा ७० करोड नागरिकलाई गरिबीबाट माथि उठाएको छ । यो विश्वकै इतिहासमा एक अभूतपूर्व सफलताको नमूना हो । पाकिस्तानले यसबाट पाठ लिएर अघि बढ्नेछ ।”

यसै महिना चीनको औपचारिक भ्रमण गरेका खानले भन्नुभयो, सरकारले चिनियाँ पक्षसँग गरिबी निवारणका लागि बृहद् रणनीतिक सल्लाहका लागि कुराकानी अघि बढाइसकेको छ । पाकिस्तानी प्रधानमन्त्रीले भन्नुभयो, “मेरो सरकारले छिट्टै गरिबी निवारणको प्याकेजलाई पाकिस्तानको इतिहासमा नै पहिलो पटक ल्याउँदै छ । यसबाट गरिबीको रेखामुनि रहेका पाकिस्तानीलाई केही राहत मिल्ने विश्वास हामीलाई छ ।” उहाँले थप्नुभयो, “यस उद्देश्यका लागि श्रृङ्खलावद्ध सहायक पहलहरू हुनेछन् ।”

इस्लामिक मुलुक पाकिस्तानले गरिबी निवारणको लक्ष्यलाई अघि बढाउन पहल तथा फरक फरक पहललाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो । पाकिस्तानको आथिएक सर्वेक्षण २०१८ ले बीस करोड ७० लाख जम्मा जनसङ्ख्यामा २४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देखाएको छ । गरिबी, भोकमरी र बेरोजगारको समस्याले पाकिस्तानको जनसङ्ख्याको ठूलो हिस्सालाई प्रभावित गरेको छ । पाकिस्तानी प्रधानमन्त्रीले घरबिहीन नागरिकका लागि आवास गृह बनाइदिने घोषणा पनि गर्नुभएको छ । उनीहरूलाई आवास, खाना र स्वास्थ्यजस्ता आधारभूत सेवाको प्रबन्ध सरकारले गर्ने योजना वर्तमान् सरकारको रहेको छ ।
-रासस÷सिन्ह्वा

प्रतिक्रिया