पाकिस्तान र भारतको बारेमा यसो भनेपछि खोसियो सिद्धूको जागिर

रिता घिसिंग

एजेन्सी : भारतीय कमेडी शो ‘द कपिल शर्मा शो’बाट नियमित अतिथि नवजोत सिंह सिद्धू निकालिएका छन् । कांग्रेस नेता तथा पंजाब सरकारका मन्त्री सिद्धूलाई कश्मीरको पुलावामा भएको आतंकवादी आक्रमणका विषयमा टिप्पणी गरेका कारण शोबाट निकालिएको हो । सोनी च्यानलले सिद्धूलाई राजीनामा दिन निर्देशन दिएको छ । पुलावामा आक्रमणमा ४० भारतीय सेनाका जवानको ज्यान गएको थियो । आक्रमणमा आफ्नो संलग्नता भएको भन्दै आतंकवादी संगठन जैश ए मोहम्मदले जिम्मेवारी लिएको थियो । 

सिद्धूले आक्रमणको बारेमा टिप्पणी गर्दै भनेका थिए कि केही सीमित व्यक्तिका कारण पूरै देशलाई दोषी मान्न सकिँदैन । सिद्धूको यो भनाइले पाकिस्तानलाई क्लिन चिट दिएको भन्दै विरोध भएको थियो । सिद्धूले यो आक्रमण निन्दनीय भन्को भन्दै आफूले यसको विरोध गर्ने बताएका थिए । घटनामा संलग्नलाई सजाय दिइनुपर्ने भन्दै सिद्धूले दुई देशबीचको विवाद केवल छलफलबाट मात्र हल हुन सक्ने भनेका थिए । यही भनाइका कारण सिद्धूको जागिर खोसिएको हो । 

 

सिद्धूको भनाइपछि सामाजिक संजालमा यसको तीब्र विरोध भयो । मानिसहरु शोमा सिद्धू रहँदासम्म शोलाई प्रतिबन्ध लगाइनुपर्ने माग राख्न थालेका थिए । सामाजिक संजालमा तीब्र विरोध भएपछि दबाबमा आएर निर्माण पक्षले यस्तो निर्णय लिएको हो । शोमा अब सिद्धूको ठाउँमा अर्चना पुरन सिंह आउनेछिन् । अर्चनाले यसको पुष्टि गर्दै शोको सुटिङ समेत सुरु भइसकेको बताइन् । अर्चना सोनी टिभीकै अर्को कमेडी शो कमेडी सर्कसका पनि जज थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू