पाल्पामा धान उत्पादन वृद्धि

शर्मिला गुरुङ

बेझाड, ७ मङ्सिर : पाल्पा जिल्लामा धान उत्पादनमा वृद्धि भएको छ । जिल्लाको दोस्रो खाद्यान्न बालीका रुपमा रहेको धान यस वर्ष ३६ हजार ४८५ मेट्रिक टन उत्पादन भएको हो ।

जिल्लामा आठ हजार ६२० हेक्टर धानखेती क्षेत्रफलमध्ये प्रतिहेक्टर ४.२४ प्रतिशतले उत्पादकत्व वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाल्पाका कृषि अर्थविज्ञ ज्ञानकुमार यादवले जानकारी दिनुभयो । गत वर्ष जिल्लामा सोही क्षेत्रफलमा ३५ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो । आव ०७३÷०७४ मा ३३ हजार ८९६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष समयमा नै धान रोपाइँ, पर्याप्त वर्षा, उन्नत जातको धानको बीउ प्रयोग, रोग किराले आक्रमण कम गर्नुजस्ता कारणले धान उत्पादन बढेको यादवले बताउनुभयो । जिल्लामा कृषकले सावित्री, रामधान, सावा मन्सुली, सुक्खा, खुमल चार, उन्नततर्फ यएस ३१२, युएस ३८२ जातको धान लगाउँदै आएका छन् ।

जिल्लाको रामपुरफाँट, माडीफाँट, अर्गलीफाँट, दोभानलगायतका क्षेत्रमा धान उत्पादनका लागि मुख्य पकेट क्षेत्र मानिन्छ । जिल्लामा उत्पादन भएको धानले यहाँ खान पुग्ने अवस्था कमै रहेकाले छिमेकी जिल्ला रुपन्देहीबाट धान आयात हुने गर्दछ । जिल्लामा थोरै समथरभूमि र धेरै डाँडाकाँडा भू–भाग रहेको हुँदा धानखेती कमै क्षेत्रमा लगाइने गरिन्छ । यस जिल्लामा उत्पादन भएको धानले खान नपुगे पनि अन्य बाली गहुँ, मकै, मौसमी तथा बेमौसमी तरकारी बालीमा कृषक आत्मनिर्भर बनेका छन् । रासस

प्रतिक्रिया