पिपिएलमा सहभागिता जनाउन १९७ खेलाडीले नाम दर्ता गराए

रिता घिसिंग

काठमाडौँ, १२ असोज : आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन् ।

पिपिएल आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्ता गराएका छन् । क्विन्स इभेन्ट्सले पिपिएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरेको थियो ।

क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ । क्याप्ड एज लेभलमा नेपालको उमेर समूह (यू–१५, यू–१७, यू–१९, यू–२१ र यू–२३) टोलीको प्रतिनिधित्व गरेका खेलाडी छन् । अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टोलीबाट खेलेका बाहेकका खेलाडी छन् । क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य रु ५० हजार राखिएको छ भने अधिकतम मूल्य रु दुई २ लाख ५० हजार राखिएको छ । क्याप्ड एज लेभलको न्यूनतम मूल्य रु ५० हजार र अधिकतम मूल्य रु एक लाख ५० हजार निर्धारण गरिएको छ । अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य रु ३० हजार र अधिकतम मूल्य रु एक लाख छ ।

यही असोज २ गतेदेखि आजसम्म खेलाडीले आफ्नो नाम दर्ता गराएका हुन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आयोजना हुने पिपिएलमा सहभागी हुने छ टोली र छ मार्की प्लेयर बिहीबार घोषणा गरिएको थियो । प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्सले खेल्नेछन् ।

चितवन राइनोजको टोली स्वामित्व युवा व्यवसायी राहुल महरासहितको टोलीले गरेको छ । मार्की प्लेयर राष्ट्रिय टोलीका कप्तान पारस खड्का छनोट भएका छन् । त्यसैगरी विराटनगर टाइटन्स् टोली स्वामित्व पूर्वक्रिकेटर तथा व्यवसायी पारस लुनियासहितको टोली र मार्की प्लेयर सन्दीप लामिछाने छन् । बुटवल ब्लास्टर्सको टोली स्वामित्व रामबहादुर विष्टसहितको व्यवसायीको युवा टोली रहेको छ भने मार्की प्लेयर सोमपाल कामी छन् ।

पोखरा पल्टनको टोली स्वामित्व व्यवसायी विनायक पोखरेलसहितको टोली रहेको छ भने मार्की प्लेयर शरद भेषवाकर छन् । एक्पर्ट धनगढी ब्लुजको टोली स्वामित्व व्यवसायी सञ्जीव शर्मा र मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी छन् । हुलास काठमाडौँ रोयल्सको टोली स्वामित्व राज्यलक्ष्मी गोल्छासहितको टोली र मार्की प्लेयर ज्ञानेन्द्र मल्ल छन् ।
–रासस

प्रतिक्रिया