स्थानीय तहले बजेट विनियोजन नगरेपछि पुनःस्थापना केन्द्र अधुरै

शर्मिला गुरुङ

सिञ्जा, ९ चैत : स्थानीय तहले बजेट विनियोजन नगरेपछि जुम्लामा निर्माणाधीन अपाङ्ग पुनःस्थापना केन्द्र वर्षौंदेखि अधुरै रहेको छ । तत्कालीन जिल्ला विकास समितिले रु २९ लाखमा अपाङ्ग पुनःस्थापना केन्द्र निर्माण थालेको हो ।

पुनःस्थापना केन्द्रका लागि त्यतिबेला रु १२ लाख विनियोजन गरिएको थियो । पछि स्थानीय तह आएपछि निर्माणाधीन भवनका लागि बजेट नछुट्टयाउँदा भवन निर्माण अधुरै रहेको अपाङ्ग महासङ्घका केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट कहिँतकैबाट उपलब्ध हुन सकेको छैन ।” स्थानीय तहले पुनःस्थापना केन्द्रका लागि बजेट विनियोजन नगरेको अपाङ्ग पुनःस्थापना तथा विकास केन्द्रले जनाएको छ । केन्द्रकै पहलमा तत्कालीन जिविसले पुनःस्थापना केन्द्र निर्माण थालेको थियो ।

“बजेट अभावले भवन निर्माण अलपत्र अवस्थामा छ”, केन्द्रका अध्यक्ष नन्दराज धितालले भन्नुभयो । अपाङ्गता भएका व्यक्तिलाई पुनःस्थापना गर्न तथा विभिन्न सीपमूलक तालीम सञ्चालन गरी स्वरोजगार बनाउने उद्देश्य छ ।

यसैगरी जुम्ला र डोल्पालाई जोड्ने दानसाघु पक्की पुल बजेट अभावमा अधुरै छ । पुरानो बसपार्कस्थित नगरपालिकालाई चक्रपथसँग जोड्ने पुल निर्माण पनि अधुरै छ । स्थानीय तह आएपछि तत्कालीन जिविसबाट सञ्चालित सबै योजना अधुरै रहेको जिससका कार्यक्रम अधिकृत क्षेत्रबहादुर बुढ्थापाले भन्नुभयो । “निर्माण समितिका व्यक्ति हामीकहाँ आउँछन्, हामीसिा बजेट छैन”, उहाँले भन्नुभयो ।

स्थानीय सरकारले पुराना निर्माणाधीन योजनालाई बजेट नदिएपछि अहिले काम अधुरै छाड्नु परेको दानसाघु पुलका ठेकेदार राजुसिंह कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “दुईपटक डिजाइन गरे । दोहोरो खर्च भयो, प्रदेश तथा सङ्घीय सरकारलाई गुहार्नु परेको छ ।” अहिले ४२ योजनाको काम ठप्प छ । सडक, पक्की पुल, भवन, खानेपानी, सिँचाइ, नहर, विद्यालय घेरबारलगायत योजना बजेट अभावमा अलपत्र छन् । रासस

प्रतिक्रिया