पुरानो बसपार्कमा सम्झौताविपरीत करोडौंको चलखेल, खुलामञ्च नै मासिने खतरा

admin

काठमाडौं, बैशाख १० :  पुरानो बसपार्कमा सम्झौताविपरीत सटर निर्माण गरी भाडामा दिँदा ठेकेदार कम्पनीले करोडौंको चलखेल गरेको पाइएको छ । हाल खुल्लामञ्चमा अस्थायी रूपमा रहेको बसपार्क व्यवस्थापनको जिम्मा जलेश्वर स्वच्छन्द विकोई विल्डर्स नामक निजी कम्पनीलाई छ । कम्पनीले साबिकको बसपार्क रहेको स्थानमा हाल काठमाडौं भ्यु टावर निर्माण भइरहेको छ । बसपार्कभित्रको स्थानमा ठेकेदारले ४२ भन्दा बढी सटर निर्माण गरी पसल सञ्चालन गर्न थालेको हो । कम्पनीले सटर भाडामा लगाउने क्रममा समेत टेन्डर आह्वान र बिल भर्पाइबिना नै पसल बिक्री गरी चलखेल गरेको पाइएको छ ।

व्यापारीका अनुसार ती सटर तीनदेखि १० लाख रुपैयाँ माथिसम्ममा खरिद गरिएका छन् । सटरको भाडा प्रतिमहिना ८ देखि १२ हजारसम्म रहेको उनीहरू बताउँछन् । सटर भाडामा लिनेमा अधिकांश फुटपाथमा व्यापार गर्ने साना व्यापारी छन् । उनीहरूले बिचौलियाको माध्यमबाट सटर खरिद गरेका थिए । सटर खरिदमा झन्डै ३ करोडको चलखेल भएको स्रोतको दाबी छ ।

 

यस्तोे छ सम्झौता

महानगरपालिकाका अनुसार २२ फागुन २०७१ मा कम्पनीले सार्वजनिक निजी साझेदारीको अवधारणाअन्र्तगत टावर निर्माण गरी सञ्चालन गर्ने र ३० वर्षमा महानगरलाई हस्तान्तरण गर्ने सम्झौता भएको थियो ।सोही सम्झौताअनुसार टावर निर्माणका लागि बसपार्कलाई अस्थायी रूपमा काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको खुल्लामञ्चको जग्गामा सारिएको थियो । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार यसै सम्झौताको आधारमा टावरको निर्माण अवधिमा कम्पनीले आफ्नै लगानीमा बसपार्क निर्माण, व्यवस्थापन, मर्मतसम्भार गर्ने र यसवापत महानगरपालिकालाई वार्षिक ५० लाख बुझाउने सहमतिअनुरूप महानगरपालिकाले १२ चैत्र २०७३ मा सोसम्बन्धी निर्णय गरेको थियो । त्यसपछि ८ वैशाख २०७४ मा कम्पनीसँग १० बुँदे सम्झौता भएको थियो ।

 

। सम्झौतापत्रमा सम्बन्धित कम्पनीले बसपार्कका लागि आवश्यक पर्ने तीनवटा बस काउन्टर, तीन यात्रु प्रतीक्षालय, एक सार्वजनिक शौचालय, एक क्यान्टिन र औषधि पसल बनाउनुपर्ने उल्लेख गरिएको थियो । सहमतिको बुँदा नम्बर ६ मा महानगरपालिकाले स्वीकृत गरेको संरचना मात्र निर्माण गरी प्रयोग गर्न पाउने भन्ने उल्लेख छ । बुँदा ७ मा यसरी सञ्चालन गर्दा सेवाग्राहीलाई असर नपर्ने गरी काम गर्नुपर्ने उल्लेख गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

 

 त्यस्तै, बुँदा ८ मा कम्पनीले सञ्चालनका क्रममा सरकार र महानगरपालिकाले निषेधित गरेका अन्य काम गर्न नपाउने स्पष्ट रूपमा उल्लेख गरिएको छ । तर, ठेकेदार कम्पनीले सम्झौता उल्लंघन गरी सम्झौतामा उल्लेख नै नभएका सटर निर्माण गरी भाडामा लगाएको छ । यस क्रममा कम्पनीले ४२ भन्दा बढी सटर निर्माण गरी व्यापारिक प्रयोजनमा भाडामा लगाएको हो । यसरी भाडामा लगाउने क्रममा करोडौं रुपैयाँको चलखेल भएको विभिन्न तथ्यले देखाएको छ । कम्पनीले महानगरपालिकासँग गरेको सम्झौताअनुसार भ्यु टावरको भुइँ तलामा बसपार्क निर्माण गरी हाल खुलामञ्चमा सञ्चालित अस्थायी बसपार्क त्यहाँ स्थानान्तरण गर्नुपर्ने हुन्छ ।

 

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले हाल निर्माण भएका संरचना सम्झौताविपरीत भएको बताए ।ठेकेदार कम्पनीले तीन वर्षका लागि व्यवस्थापनको जिम्मा पाएको र यसबापत महानगरपालिकालाई वार्षिक ५० लाख भाडा तिर्नुपर्ने दाबी गर्दै आएको छ । कम्पनीका प्रतिनिधि मनोज भेटुवालले सटर निर्माण सम्झौताअनुसार नै भएको र महानगरपालिकाबाट समेत अनुमति लिएको दाबी गरे । 

 

तर, महानगरपालिकाले यो कार्य सम्झौताविपरीत रहेको जनाएको छ । सहमति तोडेर संरचना निर्माण गर्दा बसपार्क साँघुरिँदै गएको तथा यात्रुले सास्ती खेप्नु परेकाले यी संरचना भत्काउने तयारी महानगरले गरेको छ । प्रवक्ता डंगोलले आवश्यक कारबाहीका लागि महानगरपालिकाले छलफल अगाडि बढाइसकेको र छिट्टै आवश्यक निर्णय लिइने जानकारी दिए । 

 

––महानगर भन्छ– सम्झौताविपरीत भयो, भत्काँउछौं

–ठेकेदार भन्छ– महानगरसँग अनुमति लिएर बनाइएको हो 

– खुलामञ्च पनि भूमाफियाले कब्जा गर्ने जोखिम बढ्यो

–महानगरपालिकाको कमजोरीमाथि टेक्दै ठेकेदार कम्पनीको चरम लापरबाही

 

 खुलामञ्च कब्जा गर्ने भूमाफियाको चलखेल

कम्पनीको सटर भाडामा लगाएर रकम असुल्ने प्रक्रियालाई स्थानीयले खुलामञ्च कब्जा गर्ने भूमाफियाको चलखेल भएको दाबी गरेका छन् । अस्थायी संरचना निर्माण गरी स्थान दिँदा भविष्यमा हटाउन गाह्रो पर्ने र यसबाट खुलामञ्च नै मासिने स्थिति आउनसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । यता ठेकेदार कम्पनीले भने तीन वर्षसम्मको सम्झौता रहेकाले अनिवार्य बन्नुपर्ने संरचनाबाहेकका अस्थायी संरचना निर्माण गरी भाडामा लगाइएको जानकारी दिएको छ । 

 

ठेकेदार कम्पनीले तीन वर्षसम्मका लागि सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएकाले अस्थायी संरचना निर्माण गरी भाडामा लगाउन समस्या नरहेको बताएको छ । हाल ती सटरमा कपडा, फलफूल, घडीलगायतका पसल सञ्चालित छन् । पसल सञ्चालकहरू महानगरपालिका र ठेकेदार कम्पनीबीचको विवादले आफूहरू मर्कामा परेको र सटरमा करोडौंको चलखेल हँुदासमेत महानगरपालिकाले कुनै चासो नदेखाएको बताउँछन् ।

 

विरोधमा व्यवसायी

व्यापारिक प्रयोजनका लागि सटर निर्माण गरेर ठेकेदार कम्पनीले करोडौं रुपैयाँको हिनामिना गरेको भन्दै राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघले विरोध जनाएको छ । बसपार्क सञ्चालनको सम्झौता नै गलत रहेकाले तत्काल सो क्षेत्रमा निर्माण भइरहेका संरचना हटाउनुपर्ने माग संघको छ । नहटाए कडा आन्दोलनमा उत्रिने चेतावनी संघले दिएको छ । टेन्डर र आधिकारिक बिलबिनै ठेकेदार कम्पनीले गैरकानुनी रूपमा करोडौं रकम असुल गरिरहेकाले यसबारे छानबिन हुनुपर्ने बताउँदै संघले सम्झौता सार्वजनिक गर्नसमेत माग गरेको छ ।

प्रतिक्रिया