पुलुकिसी अर्थात् ऐरावत हात्ती लगायतका जात्रा आजबाट सम्पन्न

राष्ट्रिय समाचार समिति

भक्तपुर, १ असोज: भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी अर्थात् ऐरावत हात्ती जात्रा आज भक्तपुरमा मनाइएको छ । स्थानीय लाकुलाछेंटोलबाट भएको पुलुकिसी जात्रा भक्तपुर नगरको बुलुचा, नासमना, वंशगोपाल इटाछेँ, दरबारस्क्वायर, त्रिपुरासुन्दरी, चोछें, भोलाछें, नागपोखरी, गछें, सूर्यमढी, तचपाल, गोलमढी, सुकलढोका लगायतका स्थानको परिक्रमा गरी मनाइएको छ ।

भक्तपुरको लाकुलाछें टोलका बासिन्दाले बाँसको मान्द्रोले तयार गरेको पुलुकिसीलाई नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँढ राखी बनाइएको पुलुकिसीलाई स्थानीय टौमढीमा रहेको आकाश भैरवलाई बलिसहितको पूजा दिएपछि जात्रा शुरु गर्ने परम्परा छ । पुलुकिसी आउँदा आफू आएको सङ्केत दिन पुलुकिसीको तल घण्टा झुण्ड्याएर आउने गरिन्छ । जात्रामा पुलुकिसीलाई नगर परिक्रमा गराउँदा चार जना मानिसले बोक्ने र एक जनाले पुलुकिसीको तल घण्टा बजाएर आउने गर्छ । जात्राका क्रममा पुलुकिसीलाई वंशगोपालमा धान खुवाउने, टौमढी र दरबारस्क्वायरमा आगो तपाउने, सूर्यमढीको तला तुन्छी अर्थात् इनारमा पानी खुवाउने परम्परा रहेको छ ।

देवराज इन्द्रका विश्वासिलो सेवक पुलुकिसीलाई ऐरावत हात्तीका रुपमा लिने भएकाले यसलाई ऐरावत हात्ती जात्रा पनि भन्ने गरिन्छ । जात्राका क्रममा पुलुकिसीको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार जात्राको समय पुलुकिसी आउँदा सुँढले छुन्छ कि भनी मानिस परपर बस्ने गर्दछ । पुलुकिसी जात्रासँगै आजै आकाश भैरवको खट जात्रा, याँमता (आकासे बत्ती) र तीन दिन मनाइने मूपात्र जात्रासमेत आजबाट सम्पन्न गरिन्छ ।

जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उसका सहयोगीलाई कुनै बात नलाग्ने स्थानीय बासिन्दा बताउँछन् । त्यही भएर पुलुकिसी जात्राबीच बाटोमा पुगेपछि मात्र मूपात्र जात्रा सञ्चालन गरिन्छ । देवीपुराण गन्थ्रअनुसार इन्द्रजात्रासँग सम्बन्धित यस पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाइने गरेको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया