‘पुष्पलाल समाजवादी नेता’ :मुख्यमन्त्री गुरुङ

राष्ट्रिय समाचार समिति

चिप्लेढुङ्गा, ७ साउन: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल नेपालको इतिहासमा समाजवाद र भौतिकवादमा आधारित नेपाली समाजको इतिहास लेख्ने व्यक्ति भएकोे बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी कास्कीले आयोजना गरेको ४१ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र पुष्पलाल’ विषयक प्रवचन कार्यक्रममा उहाँले विभिन्न हण्डर र ठक्कर खाएर पनि पुष्पलाल जस्तो विचार र निष्ठामा अडिग आर्दशवादी नेता अब पाउन गाह्रो भएको बताउनुभयो । पुष्पलालले बोकेका विचारलाई संस्थागत गरेर समाजवाद क्रान्तिमा एकहुनु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश सहइन्चार्ज खगराज अधिकारीले पुष्पलालले सुम्पेको जिम्मेवारी पूरा गर्ने अवस्थामा अहिले कम्युनिष्ट पार्टी भएको भन्दै दुई धारबीचको एकताले सकारात्मक सन्देश दिएको बताउनुभयो । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पुष्पलालको सिद्धान्तलाई शिरोपर गर्दै विकास र समृद्धिको मुद्दा लिएर कम्युनिष्ट पार्टी अघि बढेको बताउनुभयो । कम्युनिष्ट शासन व्यवस्थाबाट मात्रै समृद्धि हासिल हुने उहाँको भनाइ थियो ।

नेकपाका जिल्ला इन्चार्ज राजकाजी गुरुङ करणले पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका युगान्तकारी पुरुष भएको बताउनुभयो । श्रेष्ठलाई एक सङ्गठक र विचारकको रुपमा परिभाषित गर्न सकिने बताउनुभयो । नेकपाका जिल्ला सहइन्चार्ज सीता गिरी, पोखरा महानगरपालिकाका प्रमुख एवं नेकपाका इन्चार्ज मानबहादुर जीसीलगायतले पुष्पलालले बोकेको सोचमा कम्युनिष्ट पार्टी प्रवेश गरेको र श्रेष्ठका सिद्धान्तलाई संस्थागत गर्ने व्यवहारगत सुधार आवश्यक रहेको बताउनुभयो । रासस

प्रतिक्रिया