‘पेट्रोलियम पदार्थ समृद्ध कर्णालीको आधार’: मन्त्री नन्दसिंह बुढा

admin

दुल्लु, १९ असोज : कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले दैलेख पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ नै कर्णाली प्रदेशको समृद्धिको आधार भएको बताउनुभएको छ । सदरमुकाम दैलेख बजारमा आजदेखि शुरु भएका लद्यु घरेलु, कृषि उद्यम प्रदर्शनी तथा हाट बजार व्यापार मेलाको उद्घाटन समारोहमा उहाँले पेट्रोलियम पदार्थ उत्खननका लागि प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

मन्त्री बुढाले दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खनन भएको खण्डमा दैलेख मात्रै होइन, कर्णाली प्रदेशसँगै समग्र मुलुकको समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गर्दै दैलेखका उद्यमीले उत्पादन गरेको लद्युउद्यमका सामग्री प्रदेशमै उत्कृष्ट छ, त्यसको बजारीकरणका लागि स्थानीय सरकारले पहल थाल्नुपर्नेमा जोड दिनुभयो । कर्णाली प्रदेश सरकार अर्थ समितिका अध्यक्ष अम्मरबहादुर थापाले दैलेखको अल्लोको कपडा, छालाको जुत्ता, यहाँ प्रशोधन गरिएको सिस्नो लगायत उत्पादनको बजारीकरणमा ध्यान दिन सके जिल्ला समृद्ध हुन धेरै वर्ष कुर्न नपर्ने बताउनुभयो ।

पाँच दिनसम्म सञ्चालन हुने मेला नारायण नगरपालिका र जिल्ला लद्युउद्यमी समूह सङ्घ दैलेखद्वारा संयुक्त रुपमा आयोजित उक्त मेलामा जिल्लाका ११ वटै स्थानीय तहका कृषक र उद्यमीले उत्पादन गरेका वस्तु खरीद–बिक्रीका लागि राखिएको जिल्ला लघुउद्यमी समूह सङ्घका अध्यक्ष कविराज खत्रीले बताउनुभयो । उहाँका अनुसार दशैँका अवसरमा उपभोक्ताले सुलभ दरमा दैनिक उपभोग्य वस्तु खरीद गर्न पाउनेछन् । मेलामा यहाँको दुल्लु नगरपालिकाको खागितडास्थित होमस्टेले पनि सेवा दिनेछ । मेला अवधिभर जिल्लामा रहेका कलासंस्कृति प्रदर्शन गरिने आयोजकले जनाएको छ । मेलामा सहभागी कृषकलाई आकर्षक पुरस्कारसमेत प्रदान गरिनेछ ।
-रासस

प्रतिक्रिया