पोखरामा लागुऔषध कारोवारीमाथि गोली प्रहार

शर्मिला गुरुङ

काठमाडौँ, २२९ जेठ : पोखराको उत्तमचोकमा एक लागुऔषध कारोवारीमाथि प्रहरीले गोली चलाएको छ । लागुऔषध बोकेर हिँडेको सूचनाको आधारमा बुझ्न गएको प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोवारीले प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडाभन्दा तल खुट्टामा गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता गणेश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले चलाएको गोली लागेपछि घाइते भएका लागुऔषध कारोवारी जोनर डिके भनिने करीब ३० वर्षीय गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । प्रहरीले थापाको साथबाट नर्फिन, फेनार्गन र डाइजोपामलगायतका एक हजार ५०० थान लागुऔषध बरामद गरेको जनाएको छ ।

लागुऔषध कारावबारी थापा यसअघि कतारमा सन् २०१४ देखि २०१८ सम्म कारागार बसेका थिए भने नेपालमा २०७५ साल वैशाख २ गते ज्यान मार्ने उद्योगमा कारागार चलान भएका थिए । लागुऔषध कारोवारीको आक्रमणबाट एक प्रहरी असई सन्तोष सुवेदीको बायाँ खुट्टा र तिघ्रामा चोट लागेको उहाँले जानकारी दिनुभयो । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान शुरु गरेको जनाएको छ । रासस

प्रतिक्रिया