पोखरा प्रिमियर लिगको फाइनल आज : पारस कि शरद ?

admin

पोखरा, कात्तिक २०:  पछिल्ला दुई वर्षमा घरेलु फ्रेन्चाइज क्रिकेट लिगका तीनमध्ये दुई फाइनल खेलमा पारस खड्का र शरद भेषावकर भिडेका छन् । उनीहरूले कप्तानी गरेका दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गरेका छन् । त्यसमध्ये दुवै भेटमा पारसले आफूलाई अब्बल सावित गर्दै टोलीलाई उपाधि चुमाएका थिए । सन् २०१७ को अप्रिलमा भएको धनगढी प्रिमियर लिग (डीपीएल)को फाइनल खेलमा पारसको कप्तानी रहेको धनगढी टिम चौराहाले शरदको नेतृत्वमा रहेको विराटनगर किङ्सलाई ६२ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

सोही वर्षको डिसेम्बरमा काठमाडौंमा भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल)को फाइनलमा पनि उनै पारसको नेतृत्वमा रहेको विराटनगर किङ्सले फेरि शरदकै नेतृत्वको भैरहवा ग्लाडिएटर्सलाई एक रनले पराजित गर्दै उपाधि चुम्यो । दुई वर्षको अन्तरालमा फेरि एकपटक पारस र शरद फाइनलमा भिड्दै छन् ।घरेलु क्रिकेटको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल)को पहिलो संस्करणको उपाधिका लागि मंगलबार हुने फाइनल खेलमा पारस नेतृत्वको चितवन राइनोज र शरद नेतृत्वको पोखरा पल्टन भिड्दै छन् । पोखरा रंगशालामा बिहान ११ बजेपछि सुरु हुने खेलमा पारसले शरदविरुद्ध फाइनलमा ह्याट्रिक जित हात पार्ने वा शरदले अघिल्ला दुई फाइनलमा बेहोरेको पराजयको बदला लिने निश्चित हुनेछ ।

चितवन लिग चरणमा सुरुका दुई खेलमा पराजय बेहोरेर पनि फाइनलमा स्थान बनाउन सफल भएको टोली हो । पहिलो चरणमा दोस्रो भएको चितवनले एलिमिनेटरमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्सलाई पराजित गर्दै स्थानीय टोली पोखरासँगको उपाधि भिडन्त तय गरेको हो । चितवनले लिग चरणमा पोखरासँगै पराजय बेहोरिसकेको छ । यद्यपि समूहगत चरणमा लगातार दुई पराजय बेहोरेपछि चितवनले लगातार जित निकाल्दै आइरहेको छ ।

पोखराले भने प्रतियोगिताको पहिलो खेलमै शानदार प्रदर्शन गरेको थियो । उसले विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै एक सय ९७ रन जोड्दै पछि ५८ रनको जित आत्मसात् गरेको थियो । दोस्रो खेलमा बुटवलसँग ३३ रनले पराजित भएको पोखराले अर्को दोस्रो हारका रूपमा धनगढीसँग दुई विकेटले पराजित भयो । लिग चरणको अन्तिम खेलमा काठमाडौंलाई चार विकेटले हराएपछि पोखरा समान अंक भएका तीन टोलीलाई नेटरनरेटमा पछाडि पार्दै विजेताका रूपमा फाइनलमा स्थान बनाउन सफल भएको हो । त्यसैले नतिजा जसको पक्षमा गए पनि फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा चितवनका लागि भारतीय खेलाडी सन्नी पटेल मेरुदण्डका रूपमा देखिएका छन् । उनले प्रतियोगिताका ६ खेलमा एक सय ५१ रन बनाएका छन् भने नौ विकेट पनि हात पारेका छन् । पछिल्ला दुई खेलमा सन्नीको प्रदर्शन बेजोड छ । उनले विराटनगरविरुद्ध २४ बलमा ५२ रन बनाएका थिए । काठमाडौंविरुद्ध दोस्रो ओभरमा तीन विकेट लिँदै ज्ञानेन्द्रको टोलीलाई सुरुआतमै अप्ठेरोमा धकेलिदिएका थिए ।

चितवनका बलर करण केसी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् । उनले ६ खेलमा ११ विकेट हात पारेका छन् । विराटनगरका सन्दीप लामिछानेको नाममा नौ विकेट छ । पोखराका विपिन खत्री र चितवनका स्मित पटेलले समान सातसात विकेट लिएका छन् । मंगलबार दुवै टोलीलाई यी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

ब्याटिङतर्फ सर्वाधिक रन जोड्ने ब्याट्सम्यानको सूचीमा फाइनल पुगेका दुवै टोलीकामध्ये एकमात्र ब्याट्सम्यान छन् । पोखराका रविन्दर सिंह पाँच खेलमा एक सय ७० रन जोडेर चौथो स्थानमा छन् । शीर्ष स्थानमा रहेका काठमाडौंका गौरव तोमारले ६ खेलमा दुई सय १२ रन, विराटनगरका मोहम्मद जैद आलमले चार खेलमा दुई सय नौ रन र धनगढीका दीपेन्द्रसिंह ऐरीले पाँच खेलमा एक सय ८९ रन जोडेका छन् ।

दुवै टोलीले फाइनलका लागि तयार रहेको बताएका छन् । चितवनका कप्तान पारसले फाइनल खेलअघि खेलाडीहरू उत्साहित रहेको बताए । ‘दुईवटा राम्रो टोली फाइनलमा पुगेका छन् । यो खेलमा पहिलेको नतिजाले खासै अर्थ नराख्न सक्छ’, पारसले भने, ‘संयोग पनि हो यो, फेरि शरदको टोलीसँग फाइनल हँुदैछ । आशा छ, यसपटक पनि हामी उपाधि उचाल्न सक्षम हुनेछौं ।’

पोखराका कप्तान शरदले पनि आफूहरू फाइनल खेलका लागि तयार रहेको बताए । ‘हामी जुन उद्देश्यले आएका थियौं, त्यसका लागि अब एक पाइला बाँकी छ’, शरदले भने, ‘घरेलु टोलीबाट खेल्न पाएकोमा भाग्यमानी ठानेको छु । मैदानमा क्षमताअनुसार खेल्न सकियो भने जित सम्भव छ ।’ प्रतियोगिताको विजेता टोलीले २७ लाख तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया