पोखरी पुनःनिर्माण सिक्न ललितपुरको टोली भक्तपुरमा

admin

भादगाउँ, ९ जेठ: काठमाडौँको रानीपोखरी पुनःनिर्माणमा दक्ष प्राविधिक जनशक्ति सहयोग गरेको भक्तपुर नगरपालिकाका पदाधिकारीहरुसँग ललितपुर महानगरपालिकाका प्रतिनिधिमण्डलले बुधबार भेट गर्दै पोखरी जिर्णोद्धारका बारेमा जानकारी लिएका छन् । ललितपुर महानगरपालिका–५ स्थित न्हुँपुखु पुनःनिर्माणका लागि त्यस वडाका सदस्य अशोककुमार श्रेष्ठ नेतृत्वको टोलीले भक्तपुर नगरप्रमुख सुनिल प्रजापति लगायतसँग भेटघाट तथा छलफल गरेको हो ।

भेटमा नगरप्रमुख प्रजापतिले पोखरी जिर्णोद्धार तथा पुनःनिर्माण गर्दा पोखरीको ऐतिहासिकता र मौलिकता जोगाउनुपर्ने बताउनुभयो । उहाँले न्हुँपुखु उपभोक्ता समितिका पदाधिकारीलाई पुनःनिर्माण कार्य गर्दा मौलिक स्वरुप कायम गर्न, उपभोक्ता समितिमार्फत नै पुनःनिर्माण गर्न, आर्थिक अनुशासन, पारदर्शिता र इमानदारी कायम हुनेगरी समितिबाट निर्णय गरेर मात्र कार्य अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो ।

उहाँले भक्तपुरको प्रसिद्ध भाज्या पुखु पुनःनिर्माणमा ऐतिहासिक र प्राविधिक अध्ययन अनुसन्धान गरी उत्खननबाट भेटिएका अवशेषको आधारमा पोखरीको बीचको मन्दिरको डिजाइन गरी पुनःनिर्माण कार्य अगाडि बढाइरहेको जानकारी दिनुभयो । नगरप्रमुख प्रजापतिले पोखरी जिर्णाेद्धारको क्रममा पानी चुहिने समस्या समाधान गर्न पोखरीको छेउमा पाँच फिट गहिराइको खाल्टो खनी कालीमाटी भरेर उपभोक्ता समितिमार्फत मौलिकता जोगिने गरी कार्य गरिरहेको बताउनुभयो ।

उहाँले सम्पदा संरक्षण र विकास निर्माणको कार्य उपभोक्ता समितिमार्फत गर्दा अपनत्व कायम हुने, स्थानीयलाई रोजगारको अवसर सिर्जना हुने र मौलिकता संरक्षण हुने उल्लेख गर्दै विसं २०७२ को भूकम्पले क्षति पु¥याएका भक्तपुर नगरका सम्पदामध्ये ८३ सम्पदा परम्परागत सीप र शैलीमा पुनःनिर्माण भइसकेको र ३२ सम्पदा पुनःनिर्माण भइरहेको जानकारी दिनुभयो ।

उहाँले नगरका निजी आवासीय घर परम्परागत शैलीमा निर्माण गर्ने नगरवासीलाई मोहडामा प्रयोग हुने काठ, इँटा र झिँगटीको लागतमा ३५ प्रतिशत अनुदान दिइरहेको जानकारीसमेत दिनुभयो । भेटमा न्हुँपुखु उपभोक्ता समितिका पदाधिकारीहरूले भक्तपुर नगरपालिकाको सिद्धपोखरी र भाज्या पोखरीलगायतका पोखरीको संरक्षणको अनुभवबाट सिकेर न्हुँपुख पुनःनिर्माण गर्ने उद्देश्य रहेको बताउनुभयो । टोलीमा न्हुँपुखु उपभोक्ता समितिका पदाधिकारीहरु सतिरानारायण जोशी, विभूषण विष्ट, तारकसिहं बस्नेत, डा विजयकृष्ण श्रेष्ठ, रामकृष्ण महर्जन, मणिरत्न शाक्य एवं भाज्या पोखरी उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद दुमरुको पनि उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया