प्रख्यात वकिल अमाल क्लुनीद्वारा पत्रकार रिहाको आग्रह

मनिषा थापा

संयुक्त राज्य अमेरिका, १३ असोज (रासस-एएफपी ) : मानव अधिकार सम्बन्धि प्रख्यात वकिल अमाल क्लुनीले म्यान्मारको जेलमा रहेका रोयटर्स समाचार समितिका दुईजना पत्रकारलाई रिहा गर्न म्यान्मारका प्रजातन्त्रवादी तथा नोबेल पुरस्कार विजयी नेत्री आङ सान सुकीलाई शुक्रबार आग्रह गर्नु भएको छ ।

नेत्री सुकी संवैधानिक जटिलताका कारण राज्य प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री) नभई सल्लाहकार चुनिनु भएको थियो । उहाँ म्यान्मारको विदेशमन्त्री हुनुहुन्छ

रोहिङ्ग्या मुसलमानविरुद्ध भएको सैनिक दमनको समाचार सङ्कलन गरेको आरोपमा यसै महिनाको शुरुमा ३२ वर्षीय पत्रकार वा लोन र २८ वर्षीय क्यसोए ओईलाई म्यान्मार अदालतले सात वर्षको जेलसजाय सुनाएपछि उनीहरु जेलमा रहेका छन् ।

सरकारी गोपनीयता कानुन उल्लङ्घनको आरोप लगाउँदै ती दुई पत्रकार जेल सजाय सुनाइएको थियो । सुकीले जेलसजाय पाएका पत्रकारहरुलाई पत्रकार भएकै कारण पक्राउ नगरिएको र देशको गोपनीयता कानुन उल्लङ्घनको आरोपमा पक्राउ गरिएको बताउनु भएको थियो । ती पत्रकार पक्राउ परेको विषयमा विश्व समुदाय र राष्ट्रसङ्घले नै आलोचना गरिरहेको छ ।

ती दुई पत्रकारको परिवारजनले आ–आफ्ना व्यक्तिहरुलाई जेलबाट मुक्त गर्न अनुरोध गर्दै निवेदन पेस गरिसकेका र म्यान्मारका राष्ट्रपतिले सुकीसँग परामर्श गरी ती दुई पत्रकार रिहा गर्न सक्ने क्लुनीले बताउनु भएको छ । सरकारले चाहेको खण्डका ती पत्रकारहरुलाई तत्काल छोड्न सक्ने बेलायती मूलका लेबनानी वकिल क्लुनीको भनाई छ ।

रखाइन राज्यमा भएको आमहत्यामा राज्यको गोपयताको कुनै सम्बन्ध नभएको र यी पत्रकारहरुलाई राज्यको गोपनीयता उलङघन गरेको आरोप लगाउन नमिल्ने सुकीलाई राम्रोसँग थाहा भएको क्लुनीले बताउनु भयो ।

सन् २०१७ को अगस्ट २५ बाट म्यान्मारको रखाइन राज्यमा अल्पसङ्ख्यक रोहिङ्ग्या मुुसलमान समुदायमाथि सैनिक दमन सुरु भएको थियो । सो राज्य सरकारी सैनिकबाट भएको हत्या हिंसा र बलात्कारको जघन्य यातनाबाट असह्य भएपछि ७ लाख भन्दा बढी रोहिङ्ग्या मुसलमान छिमेकी देश बङ्गलादेशको कोक्स बजार आसपासमा शरणार्थी बन्न पुगेका थिए ।

प्रतिक्रिया