‘प्रदेशसभाले योग्य र कुशल सदस्य गुमाएको छ’ : मुख्यमन्त्री पोखरेल

admin

खस्यौली, १० फागुन: प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले वामलोकतान्त्रिक आन्दोलनमा प्रदेशसभा सदस्य उत्तरकुमार वलीको भूमिका सधै स्मरणयोग्य हुने उल्लेख गर्नुभएको छ । आज बिहान प्रदेशसभा सदस्य वलीको निधन भएपछि शोक विज्ञप्ति जारी गर्दै उहाँले सधै परिवर्तनका पक्षमा दृढ, जनताको माझमा भिजेका वलीको निधनले प्रदेशसभाले योग्य र कुशल सदस्य गुमाएको उल्लेख छ ।

उहाँले भन्नुभएको छ, “परिवारजनले एक असल अभिभावक र दाङवासीले भरोसायोग्य नेता गुमाउनुुपरेको छ ।” गत माघ २४ गते दाङको लमहीमा सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएका वलीको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । प्रदेशसभा सदस्य वली दाङको क्षेत्र नं ३ (ख) बाट प्रदेशसभा सदस्यमा प्रतिनिधित्व गर्नुहुन्थ्यो । त्यस्तै प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीको सचिवालयले आज कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुने जनाएको छ ।

सभामुख घर्तीले उहाँको निधनले आफू मर्माहत भएको उल्लेख गर्दै शोक विज्ञप्तिमा प्रदेशसभाको एकवर्षे कार्यकालमा वलीले प्रस्तुत गरेको भूमिका प्रशंसनीय भएको जनाउनुभएको छ । यस्तै नेकपा, प्रदेश नं ५ संसदीय दलका सचेतक भूमिश्वर ढकालले प्रदेशसभा सदस्य वलीको निधनले दाङको कम्युनिष्ट आन्दोलनलाई क्षति पु ¥याएको बताउनुभएको छ । यस्तै प्रदेश नं ५ को विपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले शोक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनले स्तब्ध बनाएको उल्लेख छ ।
-रासस

प्रतिक्रिया