प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट

रिता घिसिंग

काठमाडौँ : तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा आर्मीले प्रदेश नं २ लाई जीतका लागि २७९ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा आर्मीले ५० ओभर पूरै खेल्दै नौ विकेटको क्षतिमा २७८ रनको योगफल बनायो । टस हारेर पहिले ब्याटिङ गरेको आर्मीका लागि राजु रिजाल र कप्तान विनोद भण्डारीले अर्धशतकीय इनिङ्स खेले । शुरुआती ब्याटम्यान राजुले ९० रन जोडे । उनले दुई छक्का र चार चौकाको मद्दतमा ९० रन बनाएका हुन् । त्यस्तै विनोदले ६१ बलमा ९ चौकासहित ६६ रनमा क्याच आउट भए । यसैगरी रोहित पौडेलले ४७, हरी चौहानले २६, सुशन भारीले १२ तथा करण केसीले ११ रनको योगदान दिए ।

प्रदेश २ का हरिशकर साह एक्लैले तीन विकेट लिए भने राशिद खान, विवेक यादव र विशाल सुसलिङले समान एक÷एक विकेट लिए । आजदेखि शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच गर्नुभयो ।

प्रतियोगितामा आर्मीका लागि तीव्र गतिका बलर सोमपाल कामी भने बिमारी भएका कारण प्रतियोगितामा सहभागिता जनाएका छैनन् । प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ । जसमा समूह ए मा एपिएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी रहेका छन् । समूह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् । प्रतियोगिताको विजेताले रु २० लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।
रासस

प्रतिक्रिया