प्रधानमन्त्री कप क्रिकेट जेठमा

admin

काठमाडौँ, २२ वैशाख: राष्ट्रिय खेलकूद परिषद(राखेप)को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ । तेस्रो संस्करणको उक्त प्रतियोगिता आगामी जेठ १ देखि २४ गतेसम्म सञ्चालन हुने राखेप र नेपालयद्धारा आज संयुक्त रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त प्रतियोगिता ५० ओभरको हुनेछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता रहनेछ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजना गरिएको छ । प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा एक हातले क्याच गर्ने दर्शकले रु ५० हजार पाउने छन् । पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिता आयोजनाका लागि नीजि संस्थासँग सहकार्य गरिरहेको बताउनुभयो । राष्ट्रिय टोलीका सदस्यहरुले पनि प्रधानमन्त्री कप खेल्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतियोगिताको कूल बजेट रु एक करोड ७५ लाख रहेको छ । परिषद्ले रु ८० लाख उपलब्ध गराउनेछ भने बाँकी रकम नेपालय इन्टरनेसनलले जुटाउनेछ । प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा नेपालय इन्टरनेसनल र राखेपबीच पत्रकार सम्मेलनमा सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतापत्रमा राखेप सदस्य–सचिव विष्ट र नेपालय इन्टरनेसनलका तर्फबाट सुवासचन्द्र प्रधानले हस्ताक्षर गर्नुभयोे । रासस

प्रतिक्रिया