प्रहरी नायब उपरीक्षक जिसी अदालतमा उपस्थित

admin

भीमदत्तनगर, ११ चैत: कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्ध कसूर र यातनाविरुद्ध कसुर मुद्दामा प्रहरीको केन्द्रीय ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी आज अदालतमा उपस्थित भएका छन् ।

जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका जिसीको बयान आजदेखि शुरु भएको स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताउनुभयो । बयान सकिएपछि थुनचेक बहस हुनेछ । यसअघि गत मङ्गलबार अदालतमा उपस्थित भएका पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्ट दुवै मुद्दामा गरी रु १० लाख ५० हजार धरौटी बुझाएर आइतबार रिहा भएका थिए ।

उक्त प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुर र भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टका दाजु खड्कले यातनाविरुद्धको कसुरमा गत पुसको पहिलो साता उजुरी दिएका थिए । अदालतले गत फागुन २६ गते उपस्थित हुन विष्ट र जिसीलाई ३५ दिने सूचना जारी गरेको थियो ।
-रासस

प्रतिक्रिया