प्राकृतिक कारणबाट गैँडा मर्दै

कृष्ण रोकाया

चितवन, ३ पुस : चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज विभागले अध्ययनका लागि गठन गरेको कार्यदलले स्थलगत अध्ययन गरेको छ ।

विभागले अध्ययनका लागि पर्यावरणविद् हरिभद्र आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलका विज्ञ सहितको समूहले सोमबार निकुञ्जको अध्ययन गरी आज फर्किएको छ । संयोजक आचार्यका अनुसार निकुञ्जभित्रका घाँसेमैदान, पानीका स्रोत रहेका ठाउँ, दलदल भएका ठाउँ, गैँडाको राम्रो वासस्थान रहेका क्षेत्र लगायतका ठाउँको स्थलगत अध्ययन गरिएको छ ।

यससँगै गैँडासँग सम्बन्धित सम्पूर्ण तथ्याङ्क पठाउन निकुञ्ज कार्यालयलाई आग्रह गरिएको उहाँले बताउनुभयो । कार्यदलले समग्र निकुञ्जको भू–भागमध्ये गैँडाको वासस्थानको अवस्थाको बारेमा पनि कार्यालयसँग जानकारी लिएको छ । निकुञ्जबाट सबै विवरण प्राप्त भएपछि विज्ञ बसेर विस्तृत अध्ययन गरिने उहाँले बताउनुभयो ।

निकुञ्जको विस्तृत रुपमा स्थलगत अध्ययन गरेर विभागलाई प्रतिवेदन बुझाउने उहाँले बताउनुभयो । यही मार्चसम्ममा प्रतिवेदन बुझाउने गरी काम शुरु गरिएको संयोजक आचार्यले बताउनुभयो । कार्यदलमा वन मन्त्रालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जुलोजिकल सोसाइटी अफ लण्डनका विज्ञ र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सदस्य रहेका छन् ।

सन् २०१५ को गणनाअनुसार निकुञ्जमा ६०५ वटा गैँडा छन् । प्राकृतिक कारणबाट गत आर्थिक वर्षमा २६ वटा गैँडा मरेका थिए । यस आर्थिक वर्षको हालसम्म १०९ वटा गैँडा कालगतिले मरेका छन् ।

निकुञ्जको तथ्याङ्क अनुसार सन् २०१४ मा ८ वटा, सन् २०१५ मा १५ वटा, सन् २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैंँडा कालगतिले मरेका छन् । यसअघि चोरी शिकारीबाट सबैभन्दा बढी सन् २००२ मा ३६ वटा, सन् २००३ मा ३० वटा, सन् २००५ मा १६ वटा र सन् २००० मा १५ वटा गैँडा मारिएका थिए ।

विसं २०७३ चैत २५ गतेपछि चोरी शिकारीबाट भने गैँडा मर्न पाएका छैनन् । चोरी शिकारीबाट गैँडा नमरे पनि प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढेपछि चिन्ता व्यक्त गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले धेरैजसो गैँडा जुँधेर मरेको पाइएको बताउनुभयो । दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर, बुढो भएर पनि गैँडा मर्ने गरेका छन् । रासस

प्रतिक्रिया