प्राध्यापकको अधिवेशन तीन सातादेखि ‘चलेको चल्यै’

admin

काठमाडौं, ८ साउन : असार १९ गते शुरु भएको नेपाल प्राध्यापक संघको अधिवेशनले अहिलेसम्म पनि नेतृत्व चयन गर्न सकेन । अधिवेशन चलेको चल्यै छ कि बन्द भयो औपचारिक जानकारी दिइएको छैन । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ । विभिन्न विश्वविद्यालयमा पदाधिकारी हत्याउने दाउमा रहेको वैचारिक संगठनको चंगुलमा परेका कारण प्राध्यापक संघ ‘निकम्मा’ बनेको टिप्पणी यसको व्यावसायिक विकास चाहनेहरुको छ ।

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको निर्देशनमा चल्ने र विधानले चिन्दै नचिन्ने प्राध्यापकहरुको वैचारिक संगठनहरुसँग साँठगाँठ गरी प्राध्यापन संघको नेतृत्व चयनको प्रक्रिया सार्ने काम भइरहेको छ । प्राध्यापकहरुको एकमात्र आधिकारिक संगठन नेपाल प्राध्यापक संघ राजनीतिको नग्न चंगुलमा फसेका प्रमाणित भएको छ । संघमाथि राजनीति गर्नेहरुले महाधिवेशनमा भाग लिन देशभरबाट आएका ३ सय २२ प्राध्यापकलाई रनभुल्लमा परेका छन् ।

प्राधापक संघको असार १९ देख २१ सम्म महाधिवेशनको मिति तोकेको थियो । यो तीन दिनको अवधिमा विधानअनुसार महाधिवेशन उद्घाटन बन्दसत्रलगाएका सबै कार्यक्रम भए । विभिन्न प्रस्तावहरु पनि पारित भए । नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया शुरु भएपछि वैचारिक संगठनहरु सलबलाउन थाले । निर्वाचन समितिले तीनै वैचारिक समूहहरुको इच्छाअनुसार कार्य गर्दा अहिलेसम्म नेतृत्व चयन हुन सकेन ।

विभिन्न राजनीतिक दलहरुको वैचारिक संगठनको रुपमा प्रजातन्त्रवादी प्राध्यापक संघ, प्रगतिशील प्राध्यापक संगठन र राष्ट्रिय प्राध्यापक संगठन सक्रिय छन् । यी वैचारिक संगठनको निर्देशनअनुसार नै निर्वाचन समितिले २१ गते शुरु गरेको निर्वाचन प्रक्रिया अझै सम्पन्न भएको छैन । २१ गते स्थगित गरेको प्रक्रिया श्रावण ४ गते निर्वाचन गर्ने गरी कार्यतालिका निकालिएको थियो । श्रवण ४ गते विहान उम्मेदवारी मनोनयन गर्ने र बेलुकी ५ बजेसम्म निर्वाचन सम्पन्न गर्ने कार्यतालिका रहेको थियो ।

श्रावण ४ गते निर्वाचनका लागि उम्मेदवारी दर्ता पनि भयो । अध्यक्ष प्रत्यक्ष निर्वाचित र २० सदस्य समानुपातिक निर्वाचित हुने विधानमा उल्लेख छ । अध्यक्षमा एकमात्र उमेदवारी दर्ता भयो । सदस्यमा भने २९ जनाको उम्मेदवारी परेपछि वैचारिक संगठनहरु फेरि सलबलाउन थाले । वैचारिक संगठनहरुले भागवण्डामा उम्मेदवारी दर्ता गर्ने भनेका थिए । तर प्राध्यापकहरुले पार्टीको ह्वीप मानेनन् ।

प्रतिक्रिया