प्लास्टिकको प्रयोग निषेध गरिने

कृष्ण रोकाया

नेपालगञ्ज, ६ भदौ : नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जलाई प्लास्टिकमुक्त शहर बनाउने अभियान थालेको छ । उक्त उपमहानगरपालिकाको यो अभियानमा सहयोग पुगाउने भनी यहाँका राजनीतिक दलहरुले पनि लिखित प्रतिबद्धता जनाएका छन् ।

अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लास्टिकजन्य फोहरले गरेको असर र यसको निकासका लागि ‘ऐना फोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्रीहरु तयार गरेर नगरका चोकचोकमा झुण्ड्याएको छ । गैरसरकारी संस्थाहरुसँग सहकार्य गरेर विकल्पका रुपमा कपडा र कागजका झोला र बोराहरु उत्पादन गरेर वितरण पनि गरिएको छ । उपमहानगरपालिकाले प्लास्टिकजन्य प्रयोगलाई न्यूनीकरण गर्दै निषेध गर्नेसम्मको तयारी गरिरहेकोे जनाए पनि गत वर्षदेखि लागू गरिएको फोहरमैला व्यवस्थापन ऐनले प्लास्टिकजन्य फोहरलाई भने समेट्न सकेको छैन । सो ऐनलाई अद्यावधिक गर्नुपर्ने अवस्था भए पनि यस वर्षको कार्यक्रम र बजेटमा पनि फोहरमैला व्यवस्थापनको दीर्घकालीन योजना बनाउने विषय समेटिएको छैन ।

“नमिलेको विषयवस्तु हामी मिलाउँछौँ, ऐन, नियम बनाउनेदेखि संशोधनसम्म गर्ने, बजेट विनियोजन गर्नेलगायत सबै कुरा अभियानको कार्यक्रमभित्र समेटिनेछ”, नगरप्रमुख डा धवलशम्शेर राणाको भनाइ थियो । अभियानअन्तर्गत अहिले विभिन्न सङ्घसंस्थाले प्लास्टिकजन्य फोहर सङ्कलन पनि गरिरहे पनि प्लास्टिकजन्य पदार्थलाई छुट्याएर राख्ने गरिएको छैन । उपमहानगरपालिकाले विशेषगरी पोलिथिन प्रयोग नियन्त्रण र कपडा तथा कागजको झोला प्रयोगलाई प्रोत्साहन गरिरहे पनि प्लास्टिकजन्य प्रदूषण रोक्न सरकारी निकायको पहलले मात्र सम्भव छैन ।

“प्लास्टिक नियन्त्रणका लागि स्थानीय तहले पनि थप अग्रसरता देखाउनुपर्छ”, नगरप्रमुख राणाको भनाइ थियो, “वातावरण मैत्री व्यवसायका लागि उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ ।” प्लास्टिकजन्य फोहर व्यवस्थापनका अभियन्ता हरि सुवेदीले प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि तयार गरिएको उपमहानगरपालिको वार्षिक र त्रिवर्षीय योजनालाई कार्यान्वयन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

“यो योजनालाई प्रभावकारी कार्यान्वयनतर्फ लग्न जरुरी छ । यसका लागि उपमहानगरपालिका स्वयंले अगुवाइ गरेर सरोकारवाला पक्षबीच थप समन्वय र सहकार्य गर्नुपर्दछ । अनि मात्र प्लास्टिकजन्य फोहरमुक्त शहर निर्माण गर्न सक्छौ,” उहाँको थियो । रासस

प्रतिक्रिया